सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नम्बर–४ मा आगामी निर्वाचन नजिकिँदै गर्दा मतदाताबीच नेतृत्व परिवर्तनको बहस तीव्र रूपमा अघि बढिरहेको छ।
सात पटक सांसद र मन्त्री भइसकेका नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालप्रति असन्तोष बढ्दै जाँदा, यसपटकको चुनाव केवल दलगत प्रतिस्पर्धा नभई नेतृत्वको प्रभावकारिता माथिको मूल्यांकनका रूपमा हेरिन थालेको छ।
स्थानीय मतदाता सुरेश लामाका अनुसार लामो समयसम्म सत्तामा रहे पनि शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधार विकासमा उल्लेखनीय परिवर्तन महसुस हुन सकेको छैन। चुनावपछि नेता क्षेत्रभन्दा टाढा रहने, काठमाडौँमै केन्द्रित हुने र जनतासँग नियमित संवाद नहुने प्रवृत्तिले विश्वास घटाएको उनको भनाइ छ।
“अनुभव धेरै भयो, तर परिणाम देखिएन,” एक स्थानीय युवा मतदाताले भने, “अब भाषण होइन, काम देखिने नेतृत्व चाहिएको छ।” विशेषगरी युवाहरू रोजगारी र सीपमूलक अवसरलाई प्राथमिक मुद्दाका रूपमा उठाइरहेका छन्।
यस क्षेत्रबाट नेकपा एमालेका जालिम मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर शाक्य, नेकपाका जयप्रकाश थारु र जसपा नेपालका कृपा सिन्धु चौधरी पनि चुनावी मैदानमा छन्। यसले प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ।
२०७९ सालको निर्वाचनमा कांग्रेसका रिजाल र एमालेका जालिम मियाँबीचको मतान्तर निकै कम रहेकाले यसपटकको चुनाव झनै अनिश्चित देखिएको छ। बदलिँदो राजनीतिक चेतना र मतदाताको प्राथमिकताले पुराना समीकरण उल्टिन सक्ने आँकलन सुरु भएको छ।
राजनीतिक जानकारहरुका अनुसार पर्सा–४ मा यसपटक मतदाताले पार्टीभन्दा बढी उम्मेदवारको कार्यक्षमता, जवाफदेहिता र भविष्यका स्पष्ट योजनालाई आधार मानेर निर्णय गर्ने सम्भावना देखिन्छ। यस अर्थमा, पर्सा–४ को चुनाव निरन्तरता र परिवर्तनबीचको स्पष्ट जनमत परीक्षण बन्ने संकेत देखिएको छ।