सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा बढ्दो तनाव नियन्त्रण गर्न कर्फ्यु आदेश जारी गरेको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी कर्फ्यु आदेश सोमबार साँझ ६ बजेदेखि मङ्गलवार बिहान ८ बजेसम्म लागू रहनेछ ।
कर्फ्यु लागू हुने क्षेत्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको चार किल्लाभित्र सीमित छ ।
यो क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न वा घेराउ गर्न पूर्ण निषेध गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार, सम्भावित जोखिमलाई मध्यनजर गर्दै शान्ति सुरक्षा कायम राख्न कर्फ्यु जारी गरिएको हो ।
कर्फ्यु अवधिमा सुरक्षाकर्मीले देख्ने बित्तिकै गोली चलाउन सक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई कडा अनुरोध गरिएको छ ।
बाहिर निस्कनै परे नजिकैका सुरक्षाकर्मीसँग समन्वय गर्न वा पुलिस नियन्त्रण कक्ष (१००) मा फोन गरी अनुमति लिन भनिएको छ।यद्यपि, अत्यावश्यक सेवाहरूलाई छुट दिइएको छ ।
एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक, मानवअधिकार तथा कूटनीतिक सवारी र हवाई टिकट भएका यात्रुहरूको आवागमनमा सहजीकरण गरिनेछ ।
यसअघि सोमबार दिउँसो १ बजेदेखि निषेधाज्ञा आदेश जारी गरिएको थियो ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको क्षेत्रमा भेला, सभा, जुलुस तथा प्रदर्शनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
निषेधाज्ञा आदेश अर्को सूचना जारी नहुँदासम्म कायम रहनेछ । आदेश उल्लङ्घन गर्नेलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ ।
तनावको कारण हिन्दु धर्म, देवी–देवता, पर्व तथा मन्दिरहरूप्रति अभद्र टिप्पणी गर्ने व्यक्तिमाथि कारबाहीको माग गर्दै विभिन्न हिन्दु सङ्घ–संस्थाले सोमबार आयोजना गरेको विरोध प्रदर्शन हो । निषेधाज्ञा जारी भए पनि प्रदर्शनकारीहरू सडकमा उत्रिएपछि प्रहरीसँग झडप भएको थियो ।
आदर्शनगर, लाठ गल्ली चोक, छपकैयाको इदगाह चोक, अलखिया चोक, मुर्ली चोकलगायतका स्थानमा दिनभर झडप भएको प्रहरीले जनाएको छ ।
झडपका क्रममा प्रहरीले अश्रुग्याँस प्रहार गरेको र विभिन्न स्थानबाट एक दर्जनभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
प्रदर्शनकारीले इदगाह चोकमा एउटा मोटरसाइकलमा आगजनी समेत गरेका थिए । मुख्य चोकहरू जस्तै घण्टाघर र माइस्थान भने शान्त रहेका थिए ।
प्रशासनले सर्वसाधारणलाई शान्ति कायम राख्न सहयोग गर्न र अनावश्यक भिडभाड नगर्न अपिल गरेको छ।