समसामयिक :

अनुमति बिनै सञ्चालित क्यासिनोमा, भारतीय भन्दा नेपालीको अनगिनत भिड ! प्रशासन चुप

शुक्रबार, पुस १८, २०८२

वीरगंज । वीरगंज महानगरपालिका आदर्शनगरस्थित विवादित स्काई लाइन मलभित्र सञ्चालित क्यासिनोमा कानुनविपरीत नेपाली नागरिकलाई खुलेआम प्रवेश गराइँदै जुवाजन्य गतिविधि सञ्चालन भइरहेको तथ्य पुनः सतहमा आएको छ।

भारतीय तथा विदेशी नागरिकलाई मात्र प्रवेश दिनुपर्ने प्रचलित कानुनी व्यवस्थालाई बेवास्ता गर्दै बारा, पर्सा, रौतहटलगायतका जिल्लाका नेपाली युवाहरूलाई नक्कली भारतीय आधारकार्डसहित क्यासिनो प्रवेश गराइँदै आएको स्रोतले जनाएको छ।

वडा प्रहरी कार्यालय बिर्ता र प्रहरी चौकी आदर्शनगरकै प्रत्यक्ष संरक्षणमा क्यासिनो सञ्चालन भइरहेको गम्भीर आरोप स्थानीयस्तरमै उठिरहेको छ।

प्रहरी कार्यालय नजिकै रहेको क्यासिनोमा नेपाली युवाहरू दैनिक लाखौँ रुपैयाँ हारेर आर्थिक र मानसिक रूपमा बिचल्लीमा पर्दा पनि नियमन निकाय मौन देखिएको छ।

अंग्रेजी नया वर्षको पुर्व संध्यामा क्यासिनोभित्र वीरगंज, कलैया, गौर, सिमरा तथा बारा–पर्साका ग्रामीण क्षेत्रबाट आएका नेपाली युवाहरूको उल्लेख्य उपस्थिति थियो। यसका साथै एक दर्जनभन्दा बढी पाको उमेरका नेपाली नागरिकहरू पनि क्यासिनोभित्र देखिएका थिए।

नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा स्पष्ट प्रतिबन्ध रहे पनि प्रहरी प्रशासनको आँखा अगाडि नै नेपालीहरूको खुला प्रवेश, मदिरा सेवन र जुवा सञ्चालन भइरहनु गम्भीर प्रश्नको विषय बनेको छ।

स्थानीय बासिन्दाहरूका अनुसार यस्ता क्यासिनोका कारण थुप्रै नेपाली युवाहरूले सम्पत्ति गुमाइसकेका छन् भने कतिपय परिवार आर्थिक तथा सामाजिक रूपमा तहसनहस अवस्थामा पुगेका छन्।

स्काईलाइन मलमा क्यासीनो संचालनको अनुमतिमाथि अदालतले रोक लगाएपनि निर्वाध संचालन भई कानुनको ठाडो उल्लङ्घन भइरहँदा पनि सम्बन्धित प्रहरी निकाय किन मौन छन् भन्ने प्रश्न वीरगंजमा झन् पेचिलो बन्दै गएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  १०:२०
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय