लागुऔषध :

१०४ किलो गाँजा र १० किलो चरेशसहित पर्सामा ३ जना पक्राउ

मंगलबार, मंसिर १६, २०८२

वीरगञ्ज । पर्सा प्रहरीले छुट्टाछुट्टै कारबाहीमा ठूलो परिमाणको लागुऔषध बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज महानगरपालिकाको प्रतिमा चौक नजिक पैदल हिँडिरहेका एक व्यक्तिलाई शंकास्पद ठानी जाँच गर्दा १० किलो चरेस फेला पारेको हो।

प्रहरीका अनुसार रोकेर तलासी लिँदा कालो प्लास्टिकको झोलाभित्र टेपले बेरिएको अवस्थामा चरेस बरामद भएको थियो।

पक्राउ पर्ने व्यक्ति धोबनी गाउँपालिका निवासी सम्सुल मियाँ रहेका छन्।मियाँलाई बरामद चरेससहित आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ।

यस्तै जिल्लाको पटेर्वासुगौली गाउँपालिका क्षेत्रबाट प्रहरीले १०४ किलोभन्दा बढी गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले गरेको कारबाहीमा मकवानपुर भिमफेदी गाउँपालिका–८ का २२ वर्षीय भिम स्याङ्तान र मकवानगञ्ज नगरपालिका–७ का २८ वर्षीय कुमार स्याङ्तान पक्राउ परेका हुन्।

प्रहरीले उनीहरू सवार बीएबी ९३९८ नम्बरको स्विफ्ट कारबाट करिब १० पोका गाँजा बरामद गरेको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले जानकारी दिए।

गाडी भित्र लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला परेपछि दुवैलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको चरेस, गाँजा र कारसहित दुवै घटनाबारे थप अनुसन्धान जारी रहेको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १८:५७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय