समसामयिक :

नाबालिगसँग विवाह गर्ने चिनियाँ बेहुलासहित तीन पक्राउ

बिहीबार, मंसिर ११, २०८२

वीरगञ्ज । बाराको करैयामाई गाउँपालिका–१ हरैयामा एक चिनियाँ नागरिकले १८ वर्षीय नेपाली नाबालिगसँग विवाह गर्न लागेको अवस्थामा प्रहरीले मध्यराति छापा मारेको छ ।

विवाहको सबै तयारी पूरा भइसकेको बेला प्रहरी टोली पुग्दा बेहुला (चिनियाँ नागरिक), बेहुली (१८ वर्षीय किशोरी) र बेहुलीका बाबुलाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीका अनुसार चिनियाँ नागरिकसँग वैध पासपोर्ट र भिसा भेटिएको छ । तर नेपालको कानुनअनुसार विवाहका लागि पुरुषको २२ र महिलाको २० वर्ष उमेर पूरा हुनुपर्ने प्रावधान रहेकोमा किशोरीको उमेर १८ वर्ष मात्रै भएकाले विवाह गैरकानुनी थियो ।

वडाध्यक्ष सोनालाल साहका अनुसार हरैया गाउँ र आसपासका मुस्लिम बस्तीहरूमा पछिल्ला केही वर्षयता चिनियाँ नागरिकसँग नेपाली युवतीहरूको विवाह हुने क्रम बढ्दो छ । गत एक वर्षमा मात्रै सोही बस्तीमा कम्तीमा तीन वटा यस्तै विवाह भइसकेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय राज पण्डितले घटनामा सङ्गठित गिरोहको संलग्न हुनसक्ने प्रारम्भिक आशङ्का रहेको बताए ।

“अनुसन्धान जारी रहेकाले अहिले नै चिनियाँ नागरिकको नाम र थप विवरण खुलाउन मिल्दैन,” डिएसपी पण्डितले भने, “पक्राउ परेकाहरूसँग विस्तृत सोधपुछ भइरहेको छ । यो एक्लो घटना नभएर सङ्गठित रूपमै यस्ता विवाह गराउने गिरोह सक्रिय रहेको हुनसक्छ ।”

प्रहरीले थप अनुसन्धान जारी राखेको छ भने बालविवाह र मानव बेचबिखनजस्ता गम्भीर अपराधमा संलग्नता पुष्टि भए कडा कारबाही हुने जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय