वीरगञ्ज । नेपाली काँग्रेसभित्र विशेष महाधिवेशनको मागलाई लिएर तनाव चर्किएको छ । ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले असोज २८/२९ मा हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्दै निवेदन बुझाएपछि आज दिउँसो १ बजेपछि काठमाडौँको राष्ट्रिय सभागृह (भृकुटीमण्डप) मा देशभरका महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताको विशाल भेला हुँदै छ ।
महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा नेतृत्वको समूह र युवा नेता गुरुराज घिमिरे, बलदेव तिम्सिना, मनोजमणि लामिछाने लगायतको अगुवाइमा आयोजना गरिएको भेलाले केन्द्रीय कार्यसमितिलाई विशेष महाधिवेशनको मिति तत्काल तोक्न ‘अल्टिमेटम’ दिने तयारी गरेको छ ।
भेलामा वरिष्ठ नेताहरू महेश आचार्य, नरहरि आचार्य, तारानाथ रानाभाट, बलदेव शर्मा मजगैया, सुनिल भण्डारीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । विश्लेषकहरू कृष्ण खनाल, हरि शर्मा र अरुणकुमार सुवेदी पनि बोल्ने कार्यक्रम छ ।
काँग्रेस विधानको दफा १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनै पर्ने बाध्यकारी व्यवस्था छ । ५४ प्रतिशत भन्दा बढीले असोज अन्तिम साता निवेदन बुझाएकाले पुस मसान्त (पुस २८) भित्र विशेष वा नियमित महाधिवेशन नभए विधान उल्लङ्घन हुने निश्चित छ।
सभापति शेरबहादुर देउवा सक्रिय राजनीतिबाट अलग बसेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएका बेला आइतबार देउवाकै हस्ताक्षरमा निर्वाचन आयोगमा सङ्घीय निर्वाचनका लागि पार्टी दर्ता गरिएपछि इतर पक्ष झनै आक्रोशित बनेको छ ।
“फागुन २१ को निर्वाचनअघि नियमित महाधिवेशन सम्भव नदेखिएकाले विधानतः विशेष महाधिवेशन अपरिहार्य भइसकेको छ,” भेला आयोजक युवा नेता बलदेव तिम्सिनाले भने ।
केन्द्रीय कार्यसमिति बैठक भोलि (बिहीबार) बस्दै छ । शनिवारको बैठकले निर्वाचनमा जाने निर्णय गरेपनि महाधिवेशनको मिति टुङ्गो लगाउन सकेन । विशेष महाधिवेशन पक्षधरहरूले केन्द्रीय समितिले मिति नतोके सर्वोच्च अदालतमा रिट दायर गर्नेदेखि निर्वाचन आयोगमा निवेदन दिनेसम्मका कानुनी बाटोहरूमा पनि छलफल अघि बढाएका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा खुलेका छन् तर आजको भेलामा सहभागी हुँदैनन् । मङ्गलवार मात्र समूहले काठमाडौँ उपत्यका, बागमती प्रदेशका जिल्ला–क्षेत्रीय सभापति तथा भ्रातृ संस्थाका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेको थियो ।
काँग्रेसभित्रको सङ्कटले आगामी निर्वाचनअघि नै नयाँ नेतृत्व चयन र पार्टी पुनर्संरचनाको प्रश्नलाई निर्णायक मोडमा पुर्याएको छ । आजको राष्ट्रिय सभागृहको भेलाले केन्द्रीय समितिमा कस्तो दबाब सिर्जना गर्छ, सबैको नजर त्यसैमा केन्द्रित छ ।

