सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज : जनता समाजवादी पार्टीका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादवले सरकारले तोकिएको समयमै अर्थात आगामी फागुन २१ गते देशमा निर्वाचन गराउनु पर्ने बताउनु भएको छ ।
आज जसपा जिल्ला समिति, पर्साले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले सरकारले तोकिएको समयमै निर्वाचन गराउनु पर्ने तथा राष्ट्र निर्माणमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
उपमहासचिव यादवले तोकिएको समयमा निर्वाचन गराउन सरकार प्रतिबद्ध हुनु पर्ने र सबै दलहरुलाई निर्वाचनमा सहभागी गराउन वर्तमान सरकारले आवश्यक पहल चाल्नु पर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारले आगमी फागुन २१ गते निर्वाचन गराउनु पर्छ । निर्वाचनमा भागलिन हामी तयार छौँ । अन्य पार्टीलाई पनि चुनावमा सहभागी गराउनु पर्छ ।”
वर्तमान सरकारले समयमै निर्वाचन गराउन सकेन भने देश अझै दुर्घटनामा जानसक्ने भन्दै उपमहासचिव यादवले भन्नुभयो, “चुनाव भएन भने देश दुर्घटनामा जाने छ । दुर्घटना रोक्नलाई भएपनि देशमा निर्वाचन हुनु पर्छ ।”
सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उपमहासचिव एवं पूर्वमन्त्री यादवले यो सरकारले मधेस विरोधी निर्णय गर्यो भने मधेसका जनता संघर्षमा उत्रिने भएकाले वर्तमान सुशिला कार्की नेतृत्वको सरकारले मधेसका माग र मुद्धामा केन्द्रित रहेर काम गर्नु पर्ने सुझाब दिनुभयो ।
गत भदौ २३ र २४ गते देशमा उत्पन्न विसम परिस्थितबाट नेपाली सेनाले संविधानको रक्षा गर्दै राष्ट्रपतिको सहयोगमा नागरिकको सरकार बनाउन सहजीकरण गरेको र तत्कालिन सबै मन्त्रीहरु तथा नागरिकको सुरक्षाका लागि खेलेको रचनात्मक भुमिकाको प्रशंसा गर्दै उहाँले उक्त कार्यका लागि नेपाली सेनालाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
त्यसैगरी उहाँले अहिलेको वर्तमान परिस्थितीमा नेपालको राष्ट्रिय राजनितिमा मधेसको मुद्धा ओझेलमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “संघीयता माथी आक्रमण हुँदै छ ।
समावेशी माथी प्रहार हुँदै छ । अहिलेको वर्तमान अवस्थामा मधेसको अवस्था २०७२ सालको स्थितीमा पुगेको छ । ७२ पछि मधेसमा धेरै थोरै उपलब्धि थियो । अब त्यो उपलब्धि समाप्त हुने अवस्थामा छ ।”
अनुहार हेरेर यो नेपाली हो, उ नेपाली होइन भनेर नागरिकलाई विभागजन गराउन खोजे आफुहरुलाई उक्त कुरा सहिय नहुने समेत उहाँको भनाई छ ।
“मधेस आन्दोलनले नेपालका जुनसुक्कै ठाउँमा बसोबास गर्ने व्यक्ति नेपाली हो भनेर स्थापित गरेको हो । उसको अनुहार गोरो होस् कि कालो होस्, नेपाली नागरिकता प्राप्त गरेको अनि नेपालमा बस्ने नागरिक नेपाली हो,” उहाँले भन्नुभयो ।
उपमहासचिव यादवले नेपालमा पछिल्लो समय जेनजीका नाममा नागरिकलाई आतंकित पार्ने काम भइरहेकाले ती कार्यहरु तत्काल बन्द गरिनु पर्ने र वर्तमान सरकारले सबै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध बनाएर आगाडि बढ्नु पर्ने उहाँले आग्रह गर्नुभयो ।
बदलिंदो समय र परिस्थितिमा हामी सबैले राष्ट्र निर्माणमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो, “जनता सर्वोपरी हो, जनताको चाहना के छ ? त्यो बुझनु नेताको मुल धर्म हो ।
वर्तमान अवस्था जनता बदलाव चाहन्छ । शुसासन चाहन्छ । भ्रटाचार मुक्त समाज चाहन्छ त्यसैले राष्ट्र निर्माणमा हामीले जिम्मेवार भूमिका निर्वाह गर्न आवश्यक छ ।”
यसैगरी उहाँले सामाजिक न्याय, समान अवसर र समावेशीताको पक्षमा आफ्नो सहित पार्टीको अभियान सधै निरन्तर रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “आन्तरिक रिस–इष्र्या, तिक्तता र विगतका गुनासोलाई बिर्सेर, सबै मिलेर अघि बढ्ने बेला यही हो । समृद्ध र समावेशी नेपालको सपना साकार पार्न हामी सबैको साझा प्रयास अपरिहार्य छ ।”
वीरगंज स्थित टाउन हलमा आयोजना गरिएको उक्त कार्यक्रममा पार्टीका अग्रज तथा सक्रिय कार्यकर्ताहरूसँग भेटघाट र विचार–विमर्श गर्ने सुनौलो अवसर पनि मिलेकाले राष्ट्र निर्माणमा जिम्मेवार भूमिका निर्वाह गर्न उहाँले अगुवा कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, “सबै पार्टीमा जेनजी युवाहरुको समूह छ । जेनजी युवाहरुको सम्मान गर्न जरुरी छ । जेनजीहरुले उठाएका मागहरु जायज छन् । ती मागको सम्बोधन गरिनु पर्छ ।”
जसपापर्सा अध्यक्ष सिंघासन साह तेलीको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा जसपाका केन्द्रिय सदस्य एव वीरगंज महानगरका नगरप्रमुख राजेशमान सिंह, जिल्ला समन्वय समिति प्रमुख अजय सर्राफ, पार्टीका केन्द्रीय सदस्यहरू पुरूषोतम लाल झा, मोहन लाल चौधरी,जनार्धन यादव ,जनत अंसारी सलमा खातुन, मधुमाया यादव, जिल्ला समन्वय समिति पर्साका पुर्वप्रमुख नेकमहम्मद अंसारी सघीय परिषद सदस्य मुकेश दिवेद्धी, तवरेज अहम्मद, मधेश प्रदेशका उपाध्यक्ष प्रेमबाबु पटेल लगायत वडाअध्यक्षहरू र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।