सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । जेन-जी आन्दोलनको क्रममा काठमाडौँस्थित केन्द्रीय कारागार जगनाथदेवलबाट फरार रहेका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका – ५ सिमरा निवासी ४० वर्षीय मुक्तिनारायण कुर्मी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार, कुर्मीले आफ्नै ३५ वर्षीय श्रीमती सङ्गीता देवी कुर्मीको घाँटी थिचेर हत्या गरेको अभियोगमा पर्सा जिल्ला अदालतबाट २५ वर्षको कैद सजाय पाएका थिए ।
उनको कैदी आइडी नम्बर ३८८८१६८ रहेको छ ।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले कुर्मीलाई मङ्गलवार साँझ ७:३० उनकै घरबाट पक्राउ गरेको हो ।
कुर्मी गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका थिए । फरार भएका उनी आफ्नै गाउँ फर्किएर बस्दै आएका थिए ।
पक्राउ परेका कुर्मीलाई सम्बन्धित कारागार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको डिएसपी बस्नेतले बताए ।