सोसल मिडिया
हाम्रो बारेमा
वीरगन्ज — वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली परीक्षार्थी काण्ड सार्वजनिक भएको छ।
नेपाली कांग्रेसका पर्सा क्षेत्र नं २ का क्षेत्रीय सभापति मोहम्मद साहबुद्धिनका २५ वर्षीय छोरा मोहम्मद अफताब आइतबार नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका हुन्।
मानविकी संकायको राजनीति शास्त्र स्नातकोत्तर तहको तेस्रो सेमेस्टरको परीक्षा दिइरहेका बेला अफताब क्याम्पस प्रशासनको निगरानीमा परेका थिए।
परीक्षा प्रवेशपत्रमा साहबुद्धिनको नाम र सिम्बोल नम्बर १५२७०२३ राखी आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेका बेला अफताबलाई नियन्त्रणमा लिइएको क्याम्पस प्रमुख मोहन यादवले जानकारी दिए।
यादवका अनुसार, प्राप्त सूचनाका आधारमा परीक्षा हलमै चेकजाँच गर्दा साहबुद्धिनको नाममा दर्ता भएको सिम्बोल नम्बर प्रयोग गरेर अफताबले परीक्षा दिइरहेको पुष्टि भएपछि तत्काल नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको हो।
क्याम्पस प्रशासनले यसलाई गम्भीर शैक्षिक अनियमितता ठहर गर्दै त्रिभुवन विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियमावली २०५० को दफा २७० (क) अनुसार साहबुद्धिन र उनका छोरा अफताब दुवैविरुद्ध कारबाही हुने जनाएको छ।
पक्राउ परेका अफताबलाई हाल वडा प्रहरी कार्यालय वीर्तामा राखिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले पुष्टि गरे। उनका अनुसार, क्याम्पस प्रशासनले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा दिएको हो।
यसैबीच, नक्कली परीक्षार्थीलाई छुटाउन कांग्रेस नेताहरू प्रहरी कार्यालयमै पुगेका छन्। जिल्ला प्रहरी कार्यालयमा पुगेर पर्साका प्रहरी उपरीक्षक मिश्रलाई दबाब दिने प्रयास समेत कांग्रेस नेताहरूले गरेका स्रोतले जनाएको छ।