स्वास्थ्य :

वीरगंजमा हैजाको प्रकोप, प्रभावित क्षेत्रमा रातिदेखि नै स्वास्थ्यकर्मीको टोली परिचालन

शनिबार, भदौ ७, २०८२

वीरगंज — वीरगंज महानगरपालिका–१२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएसँगै रोकथाम तथा नियन्त्रणका लागि महानगरले शुक्रबार रातिदेखि नै स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ।

संक्रमणबारे जानकारी पाएलगत्तै महानगर प्रमुख राजेशमान सिंहले टोलीलाई तत्काल प्रभावित क्षेत्रमा खटाउन निर्देशन दिनुभएको थियो।

निर्देशनअनुसार टोली रातिदेखि नै संक्रमित क्षेत्र पुगेर अवस्थाको जानकारी लिनुका साथै स्थानीयलाई सतर्क गराउने कार्य थालेको हो।

महानगरका अनुसार मुर्ली टोलका करिब ३० जना बासिन्दा झाडापखालाको कारण वीरगंजको तराई हस्पिटलमा भर्ना भएका थिए।

एकैपटक ठूलो संख्यामा बिरामी आएपछि अस्पतालले शंका व्यक्त गर्दै महानगरलाई खबर गरेको थियो।

त्यसपछि नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा गरिएको परीक्षणमा तीन जनामा हैजाको जीवाणु भिब्रियो कोलेरा पाइएको हो।

संक्रमितमध्ये १६ वर्षीय बालक, २४ वर्षीय युवक र २४ वर्षीय महिला रहेका छन्। तीमध्ये बालकको अवस्था गम्भीर रहेको महानगर स्वास्थ्य शाखा प्रमुख राजु शाहले जानकारी दिनुभयो।

यस्तै, मुर्ली टोलका घरहरूमा प्रयोग भइरहेको पिउने पानीको नमुना थप परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ।

हैजा फैलन नदिन र स्थानीयलाई सतर्क बनाउन शुक्रबार रातिदेखि नै स्वास्थ्यकर्मीहरूको टोली घर–घरमा पुगेको छ।

टोलीले हैजाबाट जोगिने उपायहरूबारे जानकारी दिँदै कुनै पनि शंकास्पद बिरामी भेटिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा लैजान आग्रह गरेको छ।

सचेतना अभियानमा जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुर, महानगरका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरलगायतको टोली सक्रिय छ।

जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार, पर्सा जिल्लामा पछिल्लो १० वर्षयता पहिलोपटक हैजाको प्रकोप देखिएको हो।

भिब्रियो कोलरी नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गर्दछ। यस रोगका लक्षणमा निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानी कमी भई मांसपेसी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिने गर्छन्।

समयमै उपचार नपाए मृत्यु समेत हुन सक्ने चेतावनी उनले दिएका छन्।

महानगरले हैजाबाट जोगिनका लागि सबैलाई विशेष सतर्कता अपनाउन आह्वान गरेको छ।

उमालिएको वा निर्मलीकरण गरिएको पानी मात्र पिउन, तरकारी तथा हरियो सागपात उमालेको पानीले पखालेर मात्र पकाएर खान, बासी खाना नखान, राम्ररी नपकाएको मासु वा माछा नखान, साबुनपानीले पटक–पटक हात धुन, खानपिनका भाँडाकुडा सफा राख्न र सफा शौचालय प्रयोग गर्न अनुरोध गरिएको छ।

महानगर प्रमुख सिंहले हैजा एक गम्भीर संक्रामक रोग भएकाले यसको रोकथाममा कुनै पनि प्रकारको लापरबाही नगर्न सबैलाई चेतावनी दिनुभयो।

उहाँले सतर्क रहनुका साथै कुनै पनि शंकास्पद लक्षण देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गर्नुभएको छ।

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  ०७:५२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय