सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको विभिन्न नाकामा अवैध रुपमा ‘ढाट’ राखी विदेशी सवारी साधनहरूबाट गैरकानुनी रुपमा रकम असुल्ने आपराधिक गतिविधि मौलाएको छ।
विशेषगरी ड्राइपोर्ट क्षेत्रस्थित एकीकृत जाँच चौकी (ICP) हुँदै भन्सार प्रक्रिया पूरा गरी भित्रिने भारतीय मालवाहक गाडीहरूबाट जबर्जस्ती रकम असुल्ने कार्य दिन प्रतिदिन बढ्दै गएको छ।
कबाडी करको ठेका पाएका जगरनाथपुरमा रहेको ढाटले नियम बिपरित भारतिय मालवाहक सवारीसाधन सङ जबर्जस्ति रकम असुल्दै आएको छ ।
स्थानीय स्रोतअनुसार ती ढाटहरूमा चालकहरूसँग प्रतिगाडी नेपाली २०० रुपैयाँको रसिद देखाइन्छ तर व्यवहारमा भने २०० भारतीय रुपैयाँ जबर्जस्ती असुलिने गरिएको छ।
यस किसिमको असुलीमा कुनै कानुनी आधार नरहेको, न त कुनै स्पष्ट निर्णय नै रहेको पाइएको छ।
सबैभन्दा गम्भीर पक्ष भनेको ती ढाटहरूमा सुरक्षाका नाममा तैनाथ गरिएका बाउन्सरहरूद्वारा सवारी चालकहरूलाई धम्क्याउने, अपशब्द प्रयोग गर्ने, शारीरिक कुटपिट गर्ने र बलजफ्ती पैसा असुल्ने जस्ता घटनाहरू खुलेआम भइरहेका छन्।
धेरैजसो चालकहरू डरको कारण खुलाएर बोल्न चाहँदैनन् भने केही पीडितहरूले प्रत्यक्ष प्रमाणसहित स्थानीय सञ्चार माध्यम र अधिकारकर्मीहरूसमक्ष उजुरी गरेका छन्। स्थानीय निकाय र सुरक्षा संयन्त्रको मौनता शंकास्पद रहेको छ ।
स्थानीय व्यवसायी, सवारी चालक र सरोकारवाला पक्षले बारम्बार यस्तो अवैध ढाट, असुली र हिंसात्मक कार्यहरूको विरोध गर्दै आएकै हुन्।
तर वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय पर्सा, र नेपाल प्रहरीले यसप्रति चासो नदेखाउनुले प्रशासनिक बेवास्ता र आर्थिक चलखेलको आशंका बलियो बनाएको छ। पीडितहरूले प्रश्न उठाएका छन् – “यदि यो कानुनी छैन भने बाउन्सरलाई अनुमति कसले दियो? र महानगरले किन मौनता साधेको छ?”
यस्ता गतिविधिहरूले वीरगञ्जको छविमा गम्भीर धक्का पुर्याउनुका साथै, भन्सार प्रणालीप्रति जनताको भरोसा समाप्त गर्ने खालको खतरा उत्पन्न गरेको छ।
कर संकलन र सार्वजनिक सेवा दिनुपर्ने सरकारी संयन्त्रहरू आफैँ अनौपचारिक असुली प्रक्रियामा मुछिँदा, आमनागरिकमा शासनप्रति नै वितृष्णा बढ्ने निश्चितप्राय देखिन्छ।
स्थानीय बासिन्दा, व्यवसायी, चालक संघ र नागरिक समाजले यस्ता गैरकानुनी कार्यविरुद्ध तत्काल छानबिन थाल्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
वीरगञ्जलाई ‘आर्थिक राजधानी’ भनिँदै आएको सहरमा यस्तो आपराधिक प्रवृत्तिको मौन समर्थन हुनु आफैँमा चिन्ताजनक हो।