विरोध :

सडक विस्तार विरुद्ध वीरगञ्जमा टायर बालेर प्रदर्शन, बजार बन्द 

शुक्रबार, असार २०, २०८२

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले त्रिभुवन राजपथअन्तर्गत गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडक विस्तारका क्रममा सडक क्षेत्रका संरचना हटाउने कार्यको विरोधमा घरधनीहरूले वीरगञ्ज बजार बन्द गरेका छन् । विरोध स्वरूप उनीहरूले बिहान घण्टाघर चोकमा टायर बालेर प्रदर्शनसमेत गरेका छन् । 

वीरगञ्ज बचाउ सङ्घर्ष समिति र वीरगञ्ज युवा तथा व्यापारी सडक पीडित सङ्घर्ष समितिको बिहीबार राणीसति धर्मशालामा बसेको बैठकले महानगरको ‘असंवैधानिक’ भनिएको संरचना तोडफोडविरुद्ध शुक्रवार बिहान ११ बजेसम्म बजार बन्द गर्ने निर्णयअनुसार बजार बन्द गरिएको हो ।

सङ्घर्ष समितिका अध्यक्ष जवाहरप्रसाद गुप्ताले मुख्य सडकका सबै घरमा कालो झन्डा राखेर विरोध जनाउने निर्णय भएको समेत जानकारी दिए ।

यसअघि मङ्गलवार घरधनीहरूले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याललाई ज्ञापन पत्र बुझाउँदै संरचना भत्काउने कार्य तत्काल रोक्न माग गरेका थिए । उनीहरूले महानगरले क्षेत्राधिकार बाहिर गएर जबरजस्ती घर–टहरा भत्काएको आरोप लगाएका छन् ।

यता, वीरगञ्ज महानगरपालिकाले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै सोमबारदेखि भन्सार क्षेत्रबाट सडक विस्तारको काम सुरु गरेको दाबी गरेको छ । महानगरले सोमबार र मङ्गलवार दुई दिन डोजर प्रयोग गरी सडक क्षेत्रका संरचनाहरू हटाएको थियो । तर, जिल्ला प्रशासन कार्यालय पर्साको दबाबपछि महानगर हाल पछि हटेको छ ।

मुख्य सडकका घरधनीहरू सडक विस्तारको नाममा कानुनी प्रक्रिया बिना संरचना भत्काइएको भन्दै आक्रोशित छन् । उनीहरूले आन्दोलनलाई थप चर्काउने चेतावनी दिएका छन् । यद्यपि, वीरगञ्जको अर्को समूहले मुख्य सडक विस्तारको कामलाई निरन्तरता दिनुपर्ने माग राख्दै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ०९:२२
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय