रथ यात्रा :

वीरगञ्जमा श्री गहवामाईको तेस्रो रथ यात्रा भव्य रूपमा सम्पन्न

शुक्रबार, असार १३, २०८२

वीरगञ्ज । मधेस प्रदेशको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा श्री गहवामाई रथ यात्रा आज शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ ।

श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिद्वारा गठित रथ यात्रा धार्मिक समन्वय समितिले गहवामाई मन्दिरको पुनर्निर्माणको १६औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको तेस्रो रथ यात्रामा एक लाख भन्दा बढी श्रद्धालुहरूको सहभागिता रहेको समितिले जनाएको छ ।

बिहान ८ बजे गहवामाई मन्दिरमा विशेष पूजापाठसहित सुरु भएको रथ यात्रा घण्टाघर चोक, रेल्वे रोड, नगवा, छपकैयाको छठघाट चोक हुँदै वीरगञ्जको मुख्य सडकमा पर्ने बिर्ता, आदर्शनगर, महावीरस्थान हुँदै पुनः गहवामाई मन्दिरमा पुगेर समापन भएको थियो ।

रथ यात्रामा वीरगञ्जसहित पर्सा जिल्लाका विभिन्न स्थानीय तह, बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन र काठमाडौँबाट समेत श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको समितिका अध्यक्ष श्यामकुमार पोखरेलले बताए । उनका अनुसार, सीमावर्ती भारतीय सहरहरू रक्सौल, मोतिहारी, बेतिया, रामगढवा र अरेराजबाट पनि ठूलो सङ्ख्यामा श्रद्धालुहरूले सहभागिता जनाएका थिए ।

रथ यात्रालाई वीरगञ्जवासीले विभिन्न स्थानमा भव्य स्वागत गरेका थिए । नगरवासीहरूले रथमाथि पुष्प वर्षा गर्नुका साथै सहभागी श्रद्धालुहरूका लागि पानी, जुसलगायतको व्यवस्था गरेका थिए । सहभागीहरूले भगवा र रातो रङ्गको लुगा लगाएर गहवामाईको जयजयकार गरेका थिए ।

विगत तीन वर्षदेखि आयोजना हुँदै आएको रथ यात्रा अब परम्परामा मात्र सीमित नरही एउटा भव्य पर्वको रूप लिइसकेको छ । रथ यात्राको अवसरमा वीरगञ्ज महानगरपालिकाले नगरका सम्पूर्ण विद्यालयहरूमा आज सार्वजनिक बिदा घोषणा गरेको थियो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले रथ यात्राले धार्मिक सन्देश प्रवाह गर्नुका साथै गहवामाई मन्दिरको प्रचारप्रसार र वीरगञ्जलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए । उनले आगामी वर्षदेखि रथ यात्राका लागि महानगरपालिकाले विशेष बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रथ यात्राको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साले विशेष सुरक्षाको व्यवस्था गरेर सयौँको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १९:४४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय