लागुऔषध :

ठूलो परिमाणमा लागूऔषध चरेससहित वीरगंजबाट एकजना पक्राउ

बिहीबार, असार १२, २०८२

वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेससहित एक जनालाई वीरगंजबाट पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साले ३ सय १९ केजी चरेससहित मकवानपुरको थाहा नगरपालिका – १२ घर भएका ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई पक्राउ गरेको हो ।

चरेसहित पक्राउ परेका स्याङ्तानको साथबाट १ लाख ९२ हजार रुपैयाँ रकम पनि प्रहरीले बरामद भएको छ ।

बुधवार बेलुकी बाराको परवानीपुरबाट वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकलाई प्रहरीले परवानीपुर चोकमा रोकेर चेकजाँच गरेको थियो ।

त्यस क्रममा उक्त ट्रकको सामान लोड गर्ने भागमा प्लास्टिकको बोराभित्र पोका बनाएर राखिएको अवस्थामा ३ सय १९ केजी चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले बताए ।

ट्रकबाट चरेस बरामद भएपछि त्यसका चालक स्याङ्तानलाई पनि नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

खानतलासीका क्रममा चालक स्याङ्तानले लगाएको पाइन्टको खल्तीबाट नगद १ लाख ९२ हजार रुपैयाँ रकम पनि बरामद गरिएको एसपी मिश्रले बताए ।

बरामद चरेसको बजार मूल्य करिब १ करोड रुपैयाँ रहेको अनुमान गरिएको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १९:३६
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय