समसामयिक :

कांग्रेस नेता अफताब आलमसहित चारजनालाई जन्मकैदको फैसला

बिहीबार, वैशाख १३, २०८१

वीरगंज। कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमसमेत चार जनालाई जन्मकैदको सजाय सुनाइएको छ।

जिल्ला अदालत रौतहटले लापरवाहीपूर्वक काम गरी ज्यान मारेको तथा विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान लिएको अभियोगमा सजाय तोकिएको हो । 

रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यले यस्तो फैसला गरेका हुन् । अदालतका स्रेस्तेदार उद्धव ढोडारीले आलमका साथै महताव आलम, शेष सेराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाइएको जानकारी दिए । 

यस मुद्दामा कूल ११ जना प्रतिवादी रहेकोमा चार जनालाई जन्मकैदको सजाय तोकिएको हो । एक जनालाई भने अदालतले सफाइ दिएको छ। 

स्रेस्तेदार ढोडारीका अनुसार मुक्ती साहले सफाइ पाएका हुन् । यसैगरी ६ जनाको हकमा मुद्दा मुल्तवीमा राखिएको छ । 

मोहम्मद मोबिन, शेष फजलेहक, शेष भदइ, सागिर आलम, गौरीशंकर साह र शेष मालाकारको हकमा मुद्दा मुल्तवी राखिएको अदालतले जनाएको छ । 

आलमसमेतका मान्छे मिली जिउँदै इँटा भट्टामा राखी ज्यान मारेको भन्दै १८ कात्तिक २०७६ मा मुद्दा दायर भएको थियो । जसमाथि साढे चार वर्षपछि फैसला भएको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १९:४३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय