सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । जसपा अध्यक्ष उपेन्द्र यादव एमालेको समर्थनमा मंसिरको आम चुनाव लडेका थिए, हारे । सत्ता गठबन्धनबाट वैशाखको उपचुनाव भने जित्न पुगे । अहिले उनी यो गठबन्धनभित्रैका दल मिलेर बनेको समाजवादी मोर्चामा सहभागी छन् । तर बजेट पास गर्ने बेलामा उनको साथ लिन प्रधानमन्त्री प्रचण्डलाई हम्मे परेको थियो । अर्कातिर प्रतिपक्षी एमाले उनको बालकुमारीस्थित कार्यालय धाएको धायै छ ।
संसदमा १२ सिटमात्रै भए पनि अहिले संसद समीकरणमा यादव दुवै पक्षलाई आवश्यक परेका छन् ।
भर्खरै विधान अधिवेशन सक्नुभयो । यो के का लागि थियो ? यसले गरेका काम के हुन् ?
पार्टीका सदस्यहरूले आफैंले बनाएको विधानका आधारमा पार्टी निर्माण, सञ्चालन र कार्य गर्नेछ । पार्टीको विधान अधिवेशनले विधान निर्माण गरेको छ । यहीअनुसार पार्टी सञ्चालन हुन्छ । संविधान बनाउने संविधानसभा भने जस्तै पार्टीको विधान बनाउने एकखालको संविधानसभा नै हो । विधानसभा भने पनि भयो । यसले विधान बनाउने काम गरेको छ ।
तपाईंहरू लामो समयदेखि अन्तरिम विधान अनुरूप नै चलिरहनुभएको थियो । यसमा केही महत्वपूर्ण हेरफेर भए ?
महत्वपूर्णभन्दा पनि एक-दुइटा कुराहरू स्पष्ट पारेको छ । जनता समाजवादी पार्टी मुलुकको समाजवादी धारमा अगाडि बढ्ने पार्टीको रूपमा स्थापित भएको छ । यसले अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दाहरू पनि बोकेको छ ।
विगतमा यो मधेशी पार्टी हो कि जनजाति पार्टी हो कि के के हो भन्ने थियो । यो विधान अधिवेशनले त्यो (आशंका)लाई समाप्त पारेर पार्टीलाई समाजवादी लोकतन्त्रको धारबाट अगाडि बढ्ने र पार्टीको दीर्घकालीन लक्ष्य नेपाललाई संघीय समाजवादी गणतन्त्रात्मक नेपाल निर्माण गर्ने उद्देश्यलाई यसले स्पष्ट पारेको छ ।
संघीय परिषदको अधिकार कटौतीको प्रयास गर्नुभयो तर सक्नुभएन भन्ने सुनिए । खास कुरा के हो ?
होइन, संघीय परिषद्मा पहिला रहेका अधिकार अहिले पनि यथावत छ । त्यसमा फेरबदल गरेको छैन । तर बहसमा आउँदा कतिपयले संघीय परिषद हटाउनुपर्छ, कतिपयले राख्नुपर्छ भन्ने भयो । तर अहिलेको संघीय परिषद्मा सबै पदेन सदस्यहरू हुन्छन् ।
जिल्लाका अध्यक्ष, प्रदेश समितिका पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, भ्रातृ संगठनका प्रमुखहरू रहेको परिषद् हुनेछ भनिएको छ । यसअघि नयाँ मानिसहरू त्यसमा निर्णय गरेर थप्ने चलन थियो । तर अहिले सबै पद पदेन रहेको संघीय परिषद छ । यो प्रस्ताव हामीले विधानको मस्यौदामा गरेका थियौं ।
विधान अधिवेशनको बेला पार्टीको महाधिवेशनको माग उठे कि ?
महाधिवेशन गर्नलाई नै विधान अधिवेशन गरेको हो । यो विधान निर्वाचन आयोगले स्वीकृत गर्ने बित्तिकै पार्टीको महाधिवेशन सम्बन्धी कार्य प्रारम्भ हुन्छ । सदस्यता नवीकरण, प्रतिनिधि चयन लगायतका कार्यहरू सुरु हुन्छ । नयाँ विधान अन्तर्गत नै महाधिवेशन प्रतिनिधिहरू चयन हुने, महाधिवेशन हुने सबै कुरा यो विधान लागू भएपछि हुन्छ ।
हामी राज्यसत्तासँग लोकतान्त्रिक अधिकारको माग गरिराखेका हुन्छौं । तर पार्टीभित्रको लोकतन्त्र भने खुम्चँदै गएको छ भनेर आलोचना भइरहेको छ नि?
हामीले पार्टीका प्रतिनिधिहरूले बनाएको पार्टीको विधानका आधारमा पार्टी सञ्चालन गर्ने भनेपछि योभन्दा बढी लोकतान्त्रिक के हुने हो ? अहिलेसम्म धेरै पार्टीमा केही नेता बस्ने, विधान बनाउने, दर्ता गराउने र आफ्नो इच्छाअनुसार चल्ने र संशोधन गर्ने चलन छ । विधान अधिवेशनबाटै विधान बनाएर पार्टी सञ्चालन गर्नु भनेको लोकतन्त्रको एउटा उच्चतम अभ्यास हो नि !
तपाईंका आलोचकहरूले काठमाडौंमा समावेशी राज्यको माग राखिरहँदा उपेन्द्र यादवले यही माग मधेशको कुनै चोकमा उभिएर गर्न सक्ने अवस्था छैन भन्छन् । नयाँ विधानले समावेशिताको मर्मलाई कति सम्बोधन गरेको छ ?
सबै गरेको छ । जसले आलोचना गर्थे, विधान अधिवेशनपछि ती सबै आलोचित भएर गए । पार्टीलाई पनि समावेशी र लोकतान्त्रिक प्रणालीबाट सञ्चालन गर्ने, नेतृत्व समावेशी हुने, सञ्चालन प्रक्रिया विधिसम्मत ढंगबाट लोकतान्त्रिक प्रक्रिया अनुसार हुने, यानि कि आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने पार्टी विधान निर्माण भएको छ ।
पार्टीको हरेक पदहरू आवधिक रूपमा निर्वाचित हुने, पार्टीको विधानअनुसार सञ्चालन हुने पद्धतिलाई हामीले अपनाएका छौं । पार्टीभित्र बहस हुने, लोकतान्त्रिक तरिकाले निर्वाचन हुने र बहुमतले निर्णय गरेपछि कार्यान्वयन हुने, यही नै हो लोकतान्त्रिक प्रणाली पार्टीभित्र ।
समावेशिताको सवालमा हामीले तलदेखि माथिसम्म क्लस्टरगत समावेशी गर्ने भनेका छौं । अहिले पनि हामीले केन्द्रीय नेतृत्वमा ७० प्रतिशत क्लस्टरहरूबाट निर्वाचित भएर आउने र ३० प्रतिशत खुला आउने भनेपछि यो अधिकतम समावेशी भयो ।
फरक दर्शन र उद्देश्य बोकेका दलहरू मिलाएर भर्खरै बनाउनुभएको समाजवादी मोर्चा बनाउनुभएको छ । कम्युनिष्ट-गैरकम्युनिष्ट, संसदवादी-गैरसंसदवादी, पहिचानवादी-गैरपहिचानवादी सबैलाई समाजवादी मोर्चामा जोड्ने रसायन के हो ? तपाईंहरूलाई केले जोडेको हो ?
कम्युनिष्टको कुरा गर्नुभयो भने को कम्युनिष्ट छ र नेपालमा ? कसलाई कम्युनिष्ट भन्नुहुन्छ ?
बोर्डमा त यही नाम छ ?
होइन, बोर्डलाई हेरेर नभनौं न । बोर्डलाई नहेर्नुहोस् । कम्युनिष्ट नेपालमा छैनन् । यो मैले मात्रै होइन, अन्तर्राष्ट्रिय कम्युनिष्ट संगठनहरूले पनि भनिराखेकै छन् । चीनको कम्युनिष्ट पार्टी, भारतका कम्युनिष्ट पार्टीहरूले पनि त्यही भनेको छ ।
चीनको कम्युनिष्ट पार्टीले पनि नेपालका कम्युनिष्ट पार्टीहरू कम्युनिष्ट होइनन् भनेको छ र ?
होइन भनिसकेका छन् । कम्युनिष्टको अलिकति अनुभव त मलाई पनि छ । कम्युनिष्ट नेपालमा छैनन्, कम्युनिष्ट नामका पार्टीहरू छन् । कम्युनिष्टका आदर्श, चिन्तन र चरित्र बोकेको हुनुपर्यो नि ? त्यो छैन । कम्युनिष्ट पार्टीको साइनबोर्ड टाँगेर भित्र बुर्जुवा, उदार पूँजीवादी चरित्र या मध्यमवर्गीय चरित्र नै बोकेर हिंडेको छ । नामले कम्युनिष्ट, चरित्रले गैरकम्युनिष्ट छ ।
कम्युनिस्ट नामका त्यस्ता उदार बुर्जुवा, पूँजीवादीहरूसँग तपाईंहरूले किन मोर्चाबन्दी गरेको त ?
साझा लक्ष्यका लागि । पूँजीवादीहरूले पनि संसारमा ठूला ठूला योगदान दिएका छन् । तपाईं हामी यहाँ बसेका छौं, प्रेस स्वतन्त्रता, मौलिक हक, नागरिक स्वतन्त्रता, संवैधानिक प्रणाली, स्वतन्त्र न्यायालय, संसदीय व्यवस्था लगायतका राजनीतिक परिवर्तन पुँजीवादी लोकतन्त्रले दिएका हुन् । सकारात्मक कुराहरूलाई लिनुपर्छ ।
कसैले पनि ल्याउने राम्रा कुरालाई सम्मान गर्नु कुनै गलत कुरा होइन । हामीले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, संस्थागत गर्ने र मुलुकका विभिन्न समुदाय, वर्गहरूलाई उत्पीडन र विभेदबाट मुक्त गरी मुलुकलाई सुशासन, समृद्धि सँगसँगै सामाजिक न्यायको प्राप्तिसँगै समाजवादतर्फ लैजाने प्रयास गर्नका लागि समाजवादी मोर्चा बनाइएको हो ।
हाम्रो प्रश्न के हो भने यो उत्पीडन विभेदबाट मुक्त गर्न तपाईंहरूको कार्यक्रम मिलेको छ त ?
धेरै कुराहरूमा आआफ्ना विचारहरू छन् तर मिलेका साझा कुरालाई मात्रै समाजवादी मोर्चाले अगाडि बढाएको छ । धेरै महत्वपूर्ण विषयहरूमा सहमति रहेका छन् र कुरा मिलेकै विषयहरूलाई अवधारणापत्रमा समेटेर सबैले हस्ताक्षर गरिएको हो । ती सार्वजनिक गरिएका विषयवस्तुका लक्ष्यहरू प्राप्ति पनि ठूलो उपलब्धि हो ।
गठबन्धनभित्रैबाट तपाईंहरू समाजवादी मोर्चा बनाउने, नेपाली कांग्रेस वीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद मान्ने तर बजेट समाजवादी यात्रालाई सघाउने आएन भन्ने गुनासो गठबन्धनभित्रैबाट छ नि ?
बजेट विकृतिमूलक छ । त्यो त मैले संसदमा रोस्टमबाटै बोलेको छु । अहिलेको बजेट सरकारको नीति कार्यक्रमको पनि विपरीत छ । सैद्धान्तिक रूपले जुन समाजवाद उन्मुख लेखिएको छ, त्यसको पनि विपरीत छ । त्यसबारे हामी बोलेका छौं, स्वीकारेका छौं । र यसलाई सच्याऔं भनिएको पनि छ ।
नारा एकातिर काम अर्कोतिर भइराख्दा …
अप्ठ्यारो त्यही छ नि !
त्यस्तो हुँदाहुँदै कि पास गर्नुभयो त ?
अब बजेट नै फेल गर्दिने हो भने त राज्यका सारा कारोबार त ठप्प नै हुन्छ । जनताले दुःख पाउँछन् नि !
बजेट गलत पनि छ भन्ने, पास पनि गर्ने ?
बजेट त्रुटिपूर्ण छ । त्यसलाई कार्यान्वयनमा सुधार्छौं भन्ने कुरा पनि आएकोले पनि पास गरेको हो । हामीले सचेत गराएका छौं । तर बजेट नै असफल बनाउँछ मुलुकको आर्थिक कारोबार नै ठप्प हुने गरी काम गर्नु कहीं पनि संसदीय व्यवस्थामा त्यस्तो हुँदैन ।
तर यसरी सम्झौता गर्दै जाँदा त नयाँ शक्तिहरूलाई तपाईंहरूको व्यवहारले नै सघाइरहेको जस्तो देखियो नि ?
कसलाई सघाउ पुग्यो पुगेन त्यो अलग कुरा हो । तर समस्या पनि उठाउने, मुलुकलाई निकास पनि दिने र समाधान पनि खोज्नुपर्ने अवस्था छ र त्यो गर्नु नै उचित हुन्छ ।
आम रूपमा आलोचकहरूले समाजवादको दीर्घकालीन उद्देश्यभन्दा तत्कालीन सत्ता स्वार्थका लागि तपाईंहरू एकठाउँमा आउनुभएको भनिरहेका छन् ?
त्यहाँ (मोर्चा)मा सत्तामा हुने पनि छन्, नहुने पनि छन् । सत्ता स्वार्थ मात्रै भएको भए सत्ता र संसदमा नहुने किन आउँथे ? समाजवादी मोर्चाको ध्येय, सरकार त एउटा विषयवस्तु हुन्छ नै राजनीतिमा, सत्ता-सरकार कुनै विषयवस्तु नै होइनन् भन्न त हुन्न तर मुलुकलाई कुन दिशामा लैजाने त ?
समाजवादलाई पूँजीवादी लोकतन्त्रको दिशामा लैजाने कि समाजवादी लोकतन्त्रको दिशामा ? अहिलेको संविधानले पनि समाजवाद उन्मुख भनेको छ । तर अभ्यास त समाजवाद उन्मुख केही पनि छैन । त्यसैले राष्ट्रिय समस्याहरूलाई हल गर्दै समाजवादको दिशातर्फ मुलुकलाई डोर्याउनका लागि प्रयास गर्ने हो । डोर्याइहाल्ने भन्दा पनि डोर्याउनका लागि प्रयास गर्नका लागि नै यो मोर्चा निर्माण भएको हो ।
मोर्चाका लागि अरुका के के बाध्यता थिए छाडिदिऊँ । जसपाको बाध्यता के हो ? मधेशमा केही नयाँ शक्ति उदाएको गत निर्वाचनको परिणामले देखियो । क्षेत्रीय शक्तिको रूपमा कायम रहन पनि मुस्किल, राष्ट्रिय शक्तिको रूपमा बिस्तार हुन पनि मुस्किल रहने अवस्था देखिएको हो ?
हाम्रो पहिला जे अवस्था थियो, अहिले पनि त्यही छ । अब हामी विस्तारै विस्तारै अगाडि बढ्दैछौं, अभ्यास गर्दैछौं । तर, एक्लै कसैले केही काम गर्न सक्यो भने मोर्चा किन चाहियो ? किन अरुसँग मिलेर जानुपर्यो र ? सबै काम हामीले एक्लै गर्न सक्ने भए कसैसँग मिल्नै पर्दैनथ्यो । त्यो अवस्थामा नेपालमा अहिले कुन पार्टी छ त ? एक्लै आफैंले (काम) गर्न सक्ने कुनै पार्टी छैन । एमालेलाई पनि राप्रपा र घण्टी छापको सहारा चाहिएको देखिराख्नुभएकै छ ।
एमालेलाई त तपाईंहरूको पनि सहारा साथ चाहिएको छ नि ?
अरूको पनि साथ चाहिएको छ त्यतिले नपुगेर । कांग्रेसलाई पनि अरुको साथ चाहिएको हो । विचारै मिलिहाल्यो भने त एउटै पार्टी भइहाल्छ । नेपालको राजनीति नै अहिले मुद्दाहरू मिल्न सक्ने जतिसँग मिलेर साझा लक्ष्यहरू प्राप्त गर्नका लागि न एकअर्का मिल्ने हो । अब माओवादी, हाम्रो, विप्लव र माधवजीको पनि आवश्यकता र मुलुक पनि आवश्यकता हो कि मिलेर काम गरौं ।
प्रधानमन्त्रीले हिजो मात्रै जनमत पार्टी अध्यक्ष सीके राउतसँग भेटेर सरकारमा आउन आग्रह गर्नुभयो । तपाईं पनि महत्वपूर्ण पोर्टफोलियो लिएर सरकारमा जाने चर्चा छ । तपाईंहरु मिलेर जाने चाहिं कहाँसम्म हो ?
प्रधानमन्त्रीको हैसियतले उहाँले सकभर समेट्न कोसिस गर्नु कुनै नराम्रो कुरा होइन । अहिले सरकार चलेको पाँच दलको गठबन्धन मिलेरै चलेको हो । समाजवादमा आस्था राख्ने शक्तिहरू एकठाउँमा हुने र नेपाली कांग्रेससँग सहकार्य गर्दै परिवर्तनको प्रत्याभूति जनतालाई गराउने अभ्यास न हो यो ।
प्रचण्डले जस्तै तपाईंले पनि अरुसँग संवाद गरिरहनुभएको छ । एमालेसँग संवाद गरिरहनुभएको रहेछ ।
राजनीतिमा कुराकानी गर्नुहुन्न भन्ने त छैन नि ! सबैले सबैसँग कुराकानी गर्नुपर्छ ।
एमालेका नेताहरूले तपाईंलाई के भनिराख्नुभएको छ ? हिजै पनि भेटघाट भएको रहेछ ।
एमालेका नेताहरूका आफ्नै व्यथा-कथाहरू छन् । उहाँहरूलाई मल्हमपट्टीको जरुरी छ ।
तपाईंहरूले मल्हम लगाएर पठाउनुभयो एमालेका नेताहरूलाई ?
अहिले मल्हम लगाउने मेरो क्षमतै छैन ।
तपाईंको धेरै क्षमता छ नि । गत चुनावमा तपाईंलाई नै लिएर हिंड्नुभयो उहाँहरूले ?
सबैले आ–आफ्ना सम्भावना हेर्छन् । त्यो स्वाभाविक नै हो । राजनीतिमा कुराकानी नहुनुभन्दा हुनु राम्रो हो । एउटा एकातिर, अर्को अर्कोतिर फर्किएर बोलचाल नै नहुनुभन्दा मुलुकको परिस्थितिको बारेमा छलफल हुनु राम्रो कुरा हो ।
समाजवादी मोर्चाकै कुरा गरौं । तपाईंले भने जस्तै मुलुकको आवश्यकतालाई बुझेर मोर्चा आबद्ध दलहरू पार्टी एकता गरेर जाने सम्भावना छ ?
त्यो म देख्दिनँ । त्यसमा सम्भावना छैन । नजिक भएकाहरूले गर्न चाहन्छन् भने गरून् तर हामीसँग सम्भावना छैन ।
यता सम्भावना नभएरै हो पोखरामा प्रचण्डले नेकपातिर फर्कने कुरा गर्नुभएको ?
माओवादीहरू पहिला एकै ठाउँ काम गरेका हुन्, एकै ठाउँ फेरि जम्मा गर्नका लागि प्रयास गर्नु त स्वाभाविक नै हो नि !
माओवादी मात्रै होइन, माधव नेपालसहित हिजोको नेकपामा फर्कनुपर्छ हामी भन्नुभएको छ । उहाँहरूबीच एकता भयो भने त तपाईंहरूको मोर्चा अलपत्र पर्ला नि त ?
पर्दैन । के अलपत्र पर्ने हो र ? हिजो उहाँहरूले एउटै कम्युनिष्ट पार्टी बनाउनुभयो । त्यही पनि ५/६ वटा कम्युनिष्ट पार्टीहरू छँदैछन् । अब प्रचण्डजी फेरि फर्केर एमालेमा जानुहुन्छ होला जस्तो मलाई लाग्दैन । यहींभित्र रहेका माओवादी-माओवादी मिल्ने पनि सम्भावना म देख्दिनँ, सहकार्य गरेर जान सक्छन् । मिले भने त्यो राम्रै हुन्छ । धेरैवटा हुनुभन्दा कम पार्टी हुनु, मिलेर काम गर्नु त राम्रै हो ।
१० सिट भएको पार्टीका अध्यक्षले प्रधानमन्त्री दाबी गरिरहेका छन् । तपाईंसँग त १२ सिट छ ? तपाईं दाबी गर्नुहुन्न प्रधानमन्त्रीमा ?
होइन, हामीले त त्यस्तो (प्रधानमन्त्री) मा दाबी गरेको छैन । हाम्रो मूल दाबी मुद्दामा हो । एक सिट हुने पनि त प्रधानमन्त्री/राष्ट्रपति भएका छन् । श्रीलंकामा हेर्नुस् ।
त्यही त, तपाईंसँग त झन् १२ सिट छ ?
श्रीलंकामा त एक सिट ल्याउनेले राष्ट्रपति बनेको छ । हामी त्यसमा (प्रधानमन्त्री)मा बार्गेनिङ भन्दा पनि मुलुकमा संघीयताको कार्यान्वयन गर्ने, प्रदेशहरूलाई अधिकारसम्पन्न बनाउने र मुलुकलाई आर्थिक विकास र सुशासनतर्फ लैजाने, भ्रष्टाचार, लुटतन्त्र र बेथितिहरूलाई न्यूनीकरण गर्ने र विभिन्न समुदायहरूले आफ्नो पहिचान, अधिकार र प्रतिनिधित्व गर्न सक्ने अवस्थाको सिर्जना गर्ने जस्ता राष्ट्रिय मुद्दाहरूमा नै हाम्रो ध्यान छ । हामीले पनि त्यसमा (प्रधानमन्त्री) मा दाबी गर्न सक्थ्यौं, तर हामीले त्यो कुरा कोट्याएनौं ।
तपाईंहरू उसो भए यो पाँच वर्षमा प्रधानमन्त्रीमा दाबी गर्ने पक्षमा हुनुहुन्न ?
हाम्रो त्यो (प्रधानमन्त्री) मा बार्गेनिङ गर्ने पक्षमा छैनौं । हामीले उठाएका मुद्दा महत्वपूर्ण छन् । ती मुद्दालाई अहिले गठबन्धनमा सूचीकृत गरिएका छन् र मोर्चामा समेटिएका सवालहरूको कार्यान्वयन नै हाम्रो लागि ठूलो कुरा हो ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सिंगापुर भ्रमणपछि यहाँ पार्टीहरूभित्र अलि सर्याकसुरुक चलेको हो ? कुनै पनि बेला वैकल्पिक गठबन्धन बन्ने हो कि भन्ने चर्चा भइरहेको बेला एमालेले तपाईंसँग भेटघाट बाक्लो बनाइरहेको छ नि ?
त्यसमा केही छैन, केवल कुराकानी मात्रै हो अरु केही छैन । सिंगापुर जाँदा यहाँ सरकार बदलिसक्यो भनेजस्तो हल्ला चलेको थियो । नेपालमा आधारहीन हल्लाहरू बढी हुन्छ ।
त्यो हल्ला त तपाईंहरूकै बीचमा चलेको हो नि त ?
राजनीतिकै क्षेत्रमा त हो नि हल्ला चल्ने । हल्ला चलाउने सामाजिक सञ्जाल, अनलाइनहरू थुप्रै छँदैछन् नि त्यसलाई हावा दिने । अहिलेको सरकार नै वैकल्पिक सरकार हो । भलै प्रधानमन्त्री उही तर हिजोको सरकार असफल भएर/नचलेर यो बनेको हो ।
मधेशमा एमालेले तपाईंहरूलाई सघाए जस्तै कोशीमा उसले तपाईंहरूसँग साथ मागेको हो ?
एमालेले त्यसो भन्नु स्वाभाविक नै हो ।
एमालेबाट त्यस्तो प्रस्ताव आएको छ ?
कोशी प्रदेश नामाकरणलाई नै जनताले स्वीकार गरेको छैन । भलै पार्टीले संख्या पुर्याएर गरे । त्यसको विरुद्ध जनता उठेका छन् । जनताले उठाएको आन्दोलनमा दमन भयो, मान्छे मरेका छन्, घाइते भएका छन् । तिनका समस्या हल हुन जरुरी छ । हामीले भन्दै आएका छौं कि समस्या हल हुनुपर्छ । त्यही भएर यो सरकारले विश्वास गुमाउनुभन्दा धेरै अघि हामीले सरकार छोड्यौं ।
जनताले उठाएको आवाज सरकारले सुन्नुपर्छ र त्यहाँ दमन गर्नुहुन्न, आन्दोलनकारीहरूले सरकारबाट हटेर आन्दोलनमा साथ-समर्थन गर्न गरेको आग्रह स्वीकारेर सरकार छाडेका हौं । आन्दोलनकारीका समस्यालाई सम्बोधन गर्नुपर्छ । तिनका आवाजलाई सुनेर सरकारले वार्ता गर्नुपर्छ । त्यसपछि मात्रै हामीले सहज रूपमा निर्णय गर्न सक्छौं ।
काठमाडौंमा बनेको मोर्चाका कारण पनि तपाईंले एमालेलाई साथ दिन सहज भएन नि होइन ?
गठबन्धनमा भएपछि त्यसका निर्णयहरू हुन्छन्, सहमति भएका विषय कार्यान्वयन हुन्छन् । सहमति भएन भने सहमत नहुने पक्षले आफ्ना कुरा राख्छन् । त्यो त गठबन्धनको नियम नै हो । हामीले बनाएको समाजवादी मोर्चामा पनि दलहरू स्वतन्त्र रूपले काम गर्छन् तर मोर्चाद्वारा घोषित नीति कार्यक्रम र मुद्दाहरूमा साझा प्रयास हुन्छ भनिएको छ । अहिले हामी गठबन्धनमा छौं र गठबन्धनलाई नै समर्थन छ । यसमा कहाँ द्विविधा छ र ?
तपाईं आफैं एउटा क्रान्ति र परिवर्तनको नेतृत्व गरेर आउनुभयो । जनताको असन्तुष्टिलाई बुझ्नुभएकै होला । असन्तुष्टि अझै फैलिइरहेको छ । हिजो तपाईंहरूले जसलाई प्रश्न गर्न सिकाउनुभयो त्यही जनता आज तपाईंहरूलाई समेत प्रश्न गर्दैछ । तपाईंप्रति उठेका प्रश्नहरूलाई कसरी हेर्नुभएको छ ?
जनताको आवाज त सुन्नुपर्छ । जनताको भावनालाई कदर गर्नुपर्छ र जनतालाई आफ्ना कुराहरू प्रष्ट रूपमा सरकारले पनि सम्प्रेषण गर्नुपर्छ ।
पहाडमा रास्वपा, स्थानीय निर्वाचनमा स्वतन्त्र मेयरले जितेजस्तै तराई मधेशमा जनमत र नागरिक उन्मुक्ति पार्टी आएका छन् । उनीहरूको उदयलाई तपाईंले कसरी हेर्नुभएको छ ?
मैले त राम्रै मान्छु । कमसेकम नयाँ नयाँ पुस्ताहरू राजनीतिमा आऊन् । प्रयास गरून् । त्यसैका लागि त लोकतन्त्र ल्याएको हो नि । नभए त उही निर्दलीय पञ्चायती निरंकुश व्यवस्था थियो, दल खोल्न पाइँदैन, बोल्न पाइँदैन भन्नेमै अडिइहाल्थ्यो नि ! त्यसैले हामीले ल्याएको लोकतन्त्रमा नयाँ विचार, नयाँ शक्तिहरू पनि आऊन् । प्रतिस्पर्धा गरून् । जनताको म्यान्डेट पाएछन् भने शासन गरुन् । त्यही त लोकतन्त्र हो नि !
मधेशको सन्दर्भमा तपाईं विकल्पविहीन नेताको रूपमा देखिंदै आउनुभएको थियो । तर पछिल्लो समय तपाईंलाई पनि निकै ठूलो चुनौती पेश गरे नि उनीहरूले ?
विकल्पविहीन त के हुन्छ र दुनियाँ । हामीले आफ्नो काम, आफ्नो प्रयास गर्ने हो । अरुले पनि प्रयास गरून् । अरुलाई पनि प्रयास गर्न दिनुपर्छ ।
संघको सरकारमा साझेदारी गर्ने होस् वा प्रदेश सरकार चलाउने सन्दर्भमा कहीं न कहीं समस्या छन् भन्ने ठान्नुभएको छ ?
समस्या नभएको त कुन ठाउँ छ र ? सरकार सञ्चालन, डेलिभरी दिनेदेखि ५-६ दलको बीचमा साझेदारी गरेर सरकार चलाउने कुरा समस्यारहित हुँदैन ।
मधेशमा त दुई कार्यकाल जस्तो अविच्छिन्न रूपमा तपाईंहरूले सरकारको नेतृत्व गर्न पाइरहनुभएको छ ?
हामीले मिलेर काम गर्दैछौं । पहिला पनि मिलेरै काम गरेको हो, अहिले पनि मिलेरै काम गरिरहेका छौं । अरू दलहरूलाई पनि सँगसँगै मिलेर काम गरिरहेका हुन् ।
तपाईं प्रगतिशील विचार राख्ने, सबै क्लस्टरलाई जोडेर जानुपर्छ भन्ने, तपाईंको पूर्वसहकर्मी बाबुराम भट्टराई पनि यस्तै ठान्ने । सबै एजेन्डा मिल्दामिल्दै पनि केमा कुरा मिलेन ?
बाबुरामजी हामीसँग कुनै झगडा भएर जानुभएको होइन । बसेर, सल्लाह नै गरेर म अब अर्कै बाटो लाग्छु, तपाईंहरू यही बाटोमा लागिराख्नु म त अलग्गै बाटो हिंड्छु भनेर जानुभएको हो ।
तपाईंले सजिलै हुन्छ, छुटौं भन्नुभयो ?
मैले अगाडि बढ्नुस्, जानुस्, शुभकामना छ त भनेकै हो । अरुजस्तो विभाजित हुने, फुट्ने, गाली गलौज गर्ने जस्ता कुराहरू भएनन् । उहाँले सल्लाहमा प्रस्ताव राख्नुभयो, मैले ल हुन्छ, विभिन्न कोणबाट प्रयास गर्नुस्, के भयो र ? भनेको हो । त्यसअर्थमा बाबुरामजीले हामीलाई केही नराम्रो या हामीले उहाँलाई नराम्रो भन्ने अवस्था रहेन ।
तर समाजवादी मोर्चामा आउनका लागि तपाईंको अलि रिजर्भेसन रह्यो भनेर प्रचण्डले भन्नुभएको छ नि ?
हामीसँग बाबुरामजीले त्यो प्रस्ताव कहिल्यै ल्याउनुभएन, हामीलाई कहिल्यै भन्नुभएन ।
समाजवादी मोर्चाकै अवधारणा बाबुरामको थियो भन्ने चर्चा पनि चलेका थिए । उहाँ नै छुट्नुभयो ?
होइन, त्यस्तो होइन । गलत कुरा । उहाँलाई कहिले पनि समाजवादी मोर्चाको बैठक र छलफलमा देखिएन । कतै भेट भएन । बरु गठबन्धनको बैठकमा चाहिं कहिलेकाहीं देखापर्नुहुन्थ्यो तर समाजवादी मोर्चा निर्माणमा मैले उहाँको कुनै भूमिका देखिनँ ।
अन्तिममा, अहिले विभिन्न सामाजिक समस्याहरू पनि देखा परिरहेको छ । लघुवित्तको समस्या निकै ठूलो देखियो । अहिले बीचमा मिटरब्याजी पीडितहरूको समस्या निकै आयो । यहाँ तपाईंकै कार्यालयमा मिटरब्याज पीडितबाट पनि पीडित भयौं भनेर साहुकारहरू देखिए । तपाईं के भन्नुहुन्छ ?
यहाँ दुवैथरी आउनुहुन्छ । अस्ति मिटरब्याजबाट पीडित भएका तराईबाट हिंडेर काठमाडौं आइपुगेकाहरू पनि आउनुभएको थियो । त्यहाँ पनि समस्या देखियो । पछि सरकारले अध्यादेश जारी गर्यो । त्यसपछि ऋण लगानीकर्ताहरू पनि पीडा लिएर आएका छन् ।
त्यसैले राज्यले दुवैका कुरा सुनेर न्यायोचित मार्गबाट अगाडि बढ्नुपर्छ । राज्यले सानासाना सुक्ष्म तहमा कारोबार गर्ने वित्तीय संस्थाहरूको गाउँस्तरमा विकास गर्नुपर्छ । साहुमहाजनको भरमा छाडिदिनुहुँदैन, त्यहाँ राज्य उभिनुपर्छ ।अनलाइनखबर