प्रतिनिधिसभा निर्वाचन :

पर्सामा ४ दिन सीमा बन्द, होलीमा सार्वजनिक जमघट र मोटरसाइकल चलाउन रोक

शनिबार, फागुन १६, २०८२

वीरगंज- जिल्ला प्रशासन कार्यालय, पर्साले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सूचना जारी गरेको छ।

फागुन १८ गते सोमबार राति १२ बजेदेखि २१ गते बिहीबार राति १२ बजेसम्म पर्सासँग जोडिएको भारतीय सीमा पूर्ण रूपमा बन्द रहनेछ।

प्रशासनले होली तथा रमजान पर्व मनाउँदा शान्ति–सुरक्षामा असर नपरोस् भनी विभिन्न गतिविधिमा रोक लगाएको जनाएको छ।

सार्वजनिक स्थानमा भीडभाड गर्ने, मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने, जबर्जस्ती रङ दल्ने, पानीका लोल हान्ने लगायतका गतिविधि नगर्न आग्रह गरिएको छ। घरपरिवारभित्र मर्यादित रूपमा पर्व मनाउन भनिएको छ।

कुनै पनि राजनीतिक दल वा उम्मेदवारको झण्डा, चुनाव चिन्ह अंकित कपडा, टिसर्ट, टोपी आदि लगाएर पर्व मनाउन समेत निषेध गरिएको छ।

साथै होलीको समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न मोटरसाइकल प्रयोगमा पनि रोक लगाइएको प्रशासनले जनाएको छ।

मतदानको दिन अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा पास आवश्यक पर्नेछ।

एम्बुलेन्स, दुध तथा औषधि बोक्ने सवारी, दमकल, अस्पताल सेवा, सुरक्षा निकायका सवारी र विद्युत सेवा जस्ता अत्यावश्यक सेवाका सवारीलाई भने पास आवश्यक नपर्ने जनाइएको छ।

त्यस्तै निर्वाचन अवधिभर राजनीतिक प्रचार–प्रसार, डी.जे. लगायत ध्वनि प्रदूषण हुने गतिविधिमा समेत पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।

आदेश उल्लंघन गरे प्रचलित कानुन अनुसार कारबाही हुने चेतावनी दिइएको छ।

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय