वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा ३० वेडको बाल सघन चिकित्सा ईकाई हस्तान्तरण

वीरगञ्ज, २३ जेठ । वीरगञ्जस्थित नारायणी अस्पतालमा आइतवार एक कार्यक्रमका बिच बाल सघन चिकित्सा ईकाई (पिआईसियू) को उद्घाटन गरिएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघ र नारायणी अस्पतालको सहकार्यमा २५ लाख रुपैयाँको लागतमा निर्मित ३० बेडको पिआईसियू हस्तान्तरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ता र नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बिरेन्द्र बहादुर प्रधानले उद्घाटन गरेका हुन् ।

बाल सघन चिकित्सा ईकाइको उदघाटन गर्दै प्रमुख जिल्ला अधिारी घिमिरेले  कोरोना संक्रमणको महामारीमा वीरगञ्ज उद्योग वाणिज्य संघले अस्पताल निर्माणमा गरेको कार्य सह्रानीय रहेको बताए ।

आर्थिक तथा औद्योगिक नगरी वीरगञ्जका व्यावसायीहरुको छाता संगठन वीरगञ्ज उद्योग वाणिज्य संघको गर्विलो ईतिहास रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी घिमिरेले यहाँका निजी क्षेत्रले हरेक क्षेत्रमा गर्ने सामाजिक कामको जति प्रशंसा गरेपनि अपुग हुने बताए ।

प्रमुख जिल्ला अधिारी घिमिरेले कोरोना संक्रमणको तेस्रो भेरियण्टको पनि जोखिम रहेकोले त्यसबाट बालबालिकामा बढी प्रभाव पर्ने समेत विज्ञहरुले सचेत गराईरहेको अवस्थामा नारायणी अस्प्तालमा बालबालिकाहरुको उपचारका लागि सघन चिकित्सा ईकाई निर्माण र संचालनले धेरै सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर विरेन्द्र बहादुर प्रधानले अस्पतालमा बाल सघन चिकित्सा ईकाई स्थापना गर्न सहयोग गरेकोमा वीरगञ्ज उद्योग वाणिज्य संघलाई धन्यवाद दिदै जुन उद्देश्यले निर्माण गरिएको हो, यसले अस्पतालमा बालबालिकाको स्वास्थ्य उपचारमा सहज भएको र गुणस्तरीय सेवामा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ, नेकपा एमालेका महेस दास, जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोपाल केडिया, पूर्व अध्यक्ष अशोक टेमानी,  नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेँल, पर्साका प्रहरी उपरीक्षक वेल बहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसान्धानका अनुसन्धान उपनिर्देशक टिका पोखरेल, वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण वीरगञ्ज उद्योग वाणिज्य संघका प्रशासन प्रमुख मनोज उपाध्यायले गरेका थिए ।

error: Content is protected !!