निषेधाज्ञाको पहिलो दिन पर्सामा कडाई, उल्लंघन गर्ने सयौ मोटरसाइकल नियन्त्रणमा

वीरगञ्ज, १६ बैशाख । कोरोना भाइरस रोकथामका लागि स्थानीय प्रशासनले बिहीबारदेखि निषेधाज्ञा जारी गरेसँगै त्यसको कार्यन्वयनका लागि वीरगञ्जमा कडाइ गरिएको छ ।

वीरगञ्ज बजारमा बिना कारण हिँडडुल गर्ने सर्वसाधारणलाई होल्ड गरिएको छ भने तोकिएको बाहेकका ५० भन्दा बडी मोटरसाईकल र सवारीसाधन पनि नियन्त्रणमा लिएर होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

उनका अनुसार पर्सा जिल्लाको हकमा १० बजेसम्म सामान किन्न जानेहरूलाई छुट दिइएको छ ।

पाण्डेले पर्सामा २ सय ६६ जना प्रहरी परिचालन गरिएको बताए । बजार खुल्ने समयअवधि बाहेकको समयमा गाडी र मोटरसाइकल चलेको पाए नियन्त्रणमा लिएर होल्ड गरिने उनको भनाइ छ ।

एसपी पाण्डेले वीरगञ्जका २६ ठाउँमा पिकेट ड्युटीमा प्रहरी परिचलान गरिएको बताए । त्यसैगरी जिल्ला प्रहरी र ट्राफिक प्रहरीद्वारा संयुक्तरुपमा १० ठाउँमा सवारी चेकिङ राखिएको छ । यस्तै मोबाइल, क्युआरटी र सीआरभी भ्यान परिचालन गरेर निषेधाज्ञाको अनुगमन गरिएको उनले बताए ।

पाण्डेले गएराति निर्देशन विपरित विभिन्न वैवाहिक कार्यक्रममा भइरहेको कार्यक्रम पनि रोकिएको बताए ।

उनले मास्क नलगाएकालाई पनि होल्ड गरिएको बताए ।

error: Content is protected !!