प्रदेश २ को नाम मधेस र राजधानी जनकपुर राख्न प्रस्ताव

वीरगञ्ज, ६ बैशाख । प्रदेश नम्बर २ को नामकरण र स्थायी राजधानीका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन्।

प्रदेशको नामकरण र स्थायी राजधानीका लागि दुई–दुई वटा प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए।

नामकरणका लागि जसपाका प्रदेशसभा सदस्य शैलेन्द्र कुमार यादव र माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत प्रसाद साहले प्रस्ताव दर्ता गराएको छन् । त्यसैगरी राजधानीका लागि जसपाका प्रदेशसभा सदस्य परमेश्‍वर साह र माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत प्रसाद साहले प्रस्ताव दर्ता गराएको सचिव यादवले जानकारी दिए ।

त्यस्तै, नेकपा माओवादी केन्द्रको तर्फबाट राजधानी ‘जनकपुरधाम’ र नामकरण ‘मधेस’ प्रदेशको सवालमा संसदीय दलका नेता भरत प्रसाद साहले दर्ता गराएको प्रस्तावमा प्रदेशसभा सदस्यहरु जगत प्रसाद यादव र दिलीप कुमार साहले समर्थन जनाएका छन्।

प्रदेश २ सरकारले प्रदेशको नाम र राजधानी तोक्न नसकेको भन्दै कडा आलोचना भइरहेको थियो ।

प्रदेशसभाले बैशाख २ गते प्रदेशको नाम र राजधानीका लागि बैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले एक सूचना जारी गर्दै प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गराउन आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशको नामाकरण प्रदेशसभाको दुई तिहाई बहुमतबाट पारित गर्नुपर्ने हुन्छ ।

त्यस्तै, राजधानीका लागि सवालमा नेपालको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम प्रदेशसभामा तत्काल कायम रहेको दुई तिहाई बहुमतले नै पारित गर्नुपर्छ।

यसअघि विसं २०७६ साल चैत ४ गते प्रदेशको नाम र स्थायी राजधानीका लागि सचिवालयले गरेको प्रयास असफल भएको थियो । प्रदेशसभामा नामसम्बन्धी चारवटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ वटा प्रस्तावमाथि मतदान भएको थियो । तर नाम र राजधानीका लागि दर्ता गराइएका प्रस्तावहरू मध्ये कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाई मत आउन सकेको थिएन ।

यसअघिको नाम र राजधानीका लागि तत्कालीन समाजवादी पार्टी र राजपाले प्रदेशको नाम मधेस प्रस्ताव गरेको थियो ।

नेपाली कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव दर्ता गराएको थियो भने कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वर साहले मध्य मधेस नाम प्रस्ताव दर्ता गराएका थिए । तत्कालीन नेकपाले प्रदेशको नाम जानकी प्रस्ताव गरेको थियो ।

error: Content is protected !!