बढदो कोभिड संक्रमण : पर्सामा स्थानीयतह अनुसार दिन तोकेर सेवा प्रवाह गरिने

वीरगञ्ज, ६ बैशाख । जिल्ला प्रशासन कार्यालय पर्साले स्थानीयतह अनुसार दिन तोकेर सेवा प्रवाह गर्ने सूचना जारी गरेको छ ।

जिल्ला प्रशासनले मंगलबारदेखि लागु हुने गरी पर्साका सम्पूर्ण स्थानीय तहका जनताका लागि छुट्टाछुट्टै दिन तोकेर सेवा प्रवाह लागेको छ ।

पर्सा जिल्लामा रहेका १४ वटा स्थानीयतहबाट सेवाग्राही एकै दिन कार्यालय पुग्दा बढी भिडभाड देखिएकोले पालिका अनुसार सेवा प्रवाह गर्ने तालिका बनाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा आईतबार र सोमबार ९ वटा पालिकाका सेवाग्राहीले सेवा पाउनेछन् । कालिकामाई, जगरनाथपुर, ठोरी, पकाहामैनपुर, सखुवाप्रसौनी, छिपहरमाई, जिराभवानी, धोबीनी, पटेर्वासुगौली गाउँपालिकाका सेवाग्राहीले आईताबार र सोमबार तालिका अनुसार नै सेवा पाउने छन् ।

मंगलबार र बुधबार चार पालिकाका सेवाग्राहीले सेवा पाउनेछन् । पर्सागढी, बहुदरमाई, पोखरिया नगरपालिका र बिन्दबासिनी गाउँपालिकाका बासिन्दाले मंगलबार र बुधबार सेवा लिन सक्नेछन् भने बिहीबार र शुक्रबार वीरगञ्ज महानगरपालिकाका सेवाग्राहीका लागि छुट्याइएको छ ।

२५ जना भन्दा बढी भेला नहुनु, मास्क र सामाजिक दुरी कायम गर्न निर्देशन दिने प्रशासनमा सेवाग्राहीको अत्याधिक भिड हुने गरेको गुनासो आउन थाले पछि यसोगरिएको हो ।

error: Content is protected !!