सांसद् यादवद्वारा जनता आवास कार्यक्रम अन्तर्गत २८ घरको शिलन्यास

वीरगञ्ज १९ माघ । प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले पर्सामा जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको घरको शिलान्यास गरेका छन ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादवले प्रदेश नम्बर २ सरकारको बजेटबाट सञ्चालित जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको २८ घरको शिलान्यास गरेका हुन् ।

पर्सा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य जनत अन्सारीको विशेष पहलमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ को लक्षमीपुरमा रहेका अतिविपन्न, दलित र पिछडिएका समुदायको उत्थानका लागि प्रदेश सरकारले चलाएको जनता आवास कार्यक्रमअन्तर्गत घरहरु निर्माण गर्न लागेको छ । लक्षमीपुर सांसद् यादवको निर्वाचन क्षेत्रमा पनि पर्छ ।

शिलन्यास कार्यक्रममा बोल्दै सांसद् यादवले जनताको समस्या समाधानका लागि प्रदेश सरकारले निरन्तर काम गरिरहेको बताए ।

उनले विपक्षी दलले आफूपनि काम नगर्ने र प्रदेश सरकारले गरिरहेको कामविरुद्ध जनतालाई भ्रमित पार्ने प्रपोगण्डा मचाउँने काम मात्र गरिरहेको आरोप लगाए ।

‘प्रदेश नम्बर २ को सरकारले आफ्नो अधिकारमा रहेका हरेक क्षेत्रको विकास र प्रवर्द्धनका लागि काम गरिरहेको छ,’ सांसद् यादवले भने, ‘तर विपक्षीहरुलाई प्रदेश सरकारलाई बद्नाम गराउन विभिन्न प्रपोगण्डा मात्र रच्न जानेका छन् । आफै काम गर्दैनन् र गर्न खोज्दा बद्नाम मात्र गर्छन ।’

फरक प्रसंगमा बोल्दै जसपाको केन्द्रिय सदस्यसमेत रहेका यादवले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर देशमा “कु” गर्न लागेको बताए ।

उनले नेकपाले जनतासँग विश्वासघात गरेको बताउँदै सरकार सफल भएपछि जनताको आक्रोशबाट बच्न संसद् विघटन गरिएको आरोप लगाए ।

शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य जन्नत अन्सारी, जसपाका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमदलगायतको उपस्थिति रहेको थियो ।

error: Content is protected !!