प्रेसरको औषधि सधैं खानुपर्छ भन्ने छैन

असार ३ गते । धेरै मानिसहरूमा एउटा धारण गहिरोगरी बसेको छ एकपटक उच्च रक्तचापको औषधि प्रयोग गरेपछि सधै खाइरहनुपर्छ।

कतिपय चिकित्सकले यस्तो सल्लाह दिइरहेका हुन्छन्। तर, पछिल्लो समय उच्च रक्तचापको औषधि जीवनभरी खानुनपर्ने चिकित्सकहरूले सल्लाह दिन थालेका छन्।

उच्च रक्तचाप वा हाइ ब्लडप्रेसर भन्नाले शरीरका धमनीहरुमा प्रेसर बढी हुनु हो। धमनी भनेको एक प्रकारको रक्तनली हो, जसले रगत मुटुबाट बाहिर अन्य अङ्गहरुमा लैजान्छ। रक्तचापको जहिले पनि माथिल्लो र तल्लो अंक हुन्छ। कम्तिमा ९०/६० बढीमा १४०/९०हुनुपर्छ।

माथिल्लोलाई सिस्टोलिक प्रेसर भनिन्छ, जुन मुटु खुम्चिइ धमनीहरुमा रगत अगाडि बग्दा पर्ने प्रेसर हो भने तल्लोलाई डायस्टोलिक प्रेसर भनिन्छ, जुन मुटु फुक्दा धमनीहरुमा पर्ने प्रेसर हो।

सिस्टोलिक, धमनीमा पर्ने सबैभन्दा बढी प्रेसर हो भने डायस्टोलिक सबैभन्दा कम प्रेसर हो। सिस्टोलिक र डायस्टोलिक प्रेसरमा कुनै एउटा वा दुवै बढेमा उच्च रक्तचाप भएको मानिन्छ। लामो समयसम्म उच्च रक्तचाप भएमा मुटुको रोग, हार्ट अट्याक, मृगौलाको रोग, आँखामा समस्या आउने, मस्तिस्कमा रगत बग्ने (परिणाम स्वरूप प्यारालाईसिस) हुने सम्भावना बढेर जान्छ।

त्यसैले उच्च रक्तचापको समयमै पहिचान गरी यसलाई नियन्त्रणमा राख्नुपर्छ, जस्ले गर्दा अरु अङहरुमा हुनसक्ने नराम्रो असरलाई पनि रोक्न सकिन्छ।

सबै उच्चरक्तचापका बिरामी मध्ये ९५% लाई प्राइमरी उच्चरक्तचाप हुन्छ। उच्च रक्तचाप, हाइ बी.पी., ब्लड प्रेसर हाइ आदि नामले यही ‘प्राइमरी उच्च रक्तचाप’ लाई बुझाउदँछ।

उच्च रक्तचापको वास्तविक कारण यही हो भन्ने थाहा हुनसकेको छैन। तर एउटा प्रमुख कारण वंशानुगत हो। यदि आमाबुवालाई उच्च रक्तचाप छ भने छोराछोरीलाई हुने सम्भावना बढी हुन्छ। साथै शरीरको तौल बढी हुनाले, रक्सी चुरोटको सेवन बढी गर्नाले पनि यो रोग हुने सम्भावना बढेर जान्छ।

उच्च रक्तचाप (प्रेसर) को कारण पत्ता लगाउने

सबैभन्दा पहिला प्रेसर बढ्नुको कारण पत्ता लगाउनुपर्ने चिकित्सकको सुझाव छ।

प्रेसर नाप्ने यन्त्र (इसफिगमोमानोमिटर) ले प्रेसर ननापिकन प्रेसर बढी वा कम भएको थाहा पाउन सकिदैंन। उच्च रक्तचापको खराब असर अरु अङगहरुमा नपरेसम्म यो रोगको केही लक्षण देखिदैन।

कसैकसैले आफूलाई प्रेसर बढेको बेला टाउको दुख्ने, चक्कर लाग्ने, वान्ता हुने हुन्छ, तर त्यो प्रेसर धेरै नै बढी भएको लक्षण हो। उच्च रक्तचापमा लक्षण देखिनु राम्रो कुरा हो, किनभने लक्षण देखियेपछि रोग सुरुकै अवस्थामा पत्ता लाग्छ। त्यसैले यो रोगलाई समयमै समाउनको लागि बेलाबेलामा आफ्नो प्रेसर जाच्ने गर्नुपर्छ।

४० वर्षभन्दा कम उमेरका व्यक्तिहरूमा ९० प्रतिशतभन्दा बढी प्रेसरको कारण पत्ता लगाउन सकिन्छ। प्रेसर बढ्नुको ५० प्रतिशत भन्दा बढी कारण किड्नीमा समस्या भएकोले नै हुने बरिष्ठ मुटुरोग बिशेषज्ञ प्रेमराज वैद्यले सेतोपाटीसँगको कुराकानीमा बताए।

‘किड्नीमा स्टोन भयो भने किड्नीमा जाने रगतको नली साँघुरिएको खण्डमा उच्च रक्तचाप हुन्छ। अर्को कुरा सहरी क्षेत्रमा कम उमेरकै मानिसको प्रेसर बढ्नु भनेको तनावले नै हो,’ डाक्टर वैद्यले भने, ‘मानिसहरू बिहानदेखि बेलुकासम्म व्यस्त हुन्छन् तनावमा काम गर्छन् त्यसले गर्दा प्रेसर बढ्न जान्छ।’

कतिपय विद्यार्थीको २०-२२ वर्षकै उमेरमा परीक्षाको समयमा प्रेसर बढ्ने गरेको वैद्यको अनुभव छ। त्यस्तो बेलामा प्रेसरको औषधि खुवाउन सकिन्छ तर यो सधैंभर खुवाउन पर्छ भन्ने छैन। किनकि, परीक्षा सकिएपछि उनीहरूको प्रेसर फेरि सामान्य अवस्थामा फर्किनेछ।

****
प्रेसर बढ्न नदिने सबैभन्दा उत्तम उपाय ध्यान र योगा नै भएको डा वैद्यको दाबी छ। ‘मसँग आएका धेरै बिरामीको प्रेसरको औषधि छुटाउने काम समेत मैले गरेको छु’, वैद्यले भने, ‘ धेरैजसो उच्च रक्तचापका बिरामी मानसिक तनावले हुन्छन्, त्यसलाई बिस्तारै कम गर्दै लगेमा औषधि छोड्न सकिन्छ।’

‘रक्चचाप बढेको बेलामा औषधि खाने र सामान्य भइसकेपछि क्रमशः छोड्दै जान सकिन्छ। कुनै कारणले आज प्रेसर बढ्छ अनि फेरि भोलि घट्न पनि सक्छ यस्तो कुरालाई पनि ध्यान दिनुपर्छ,’ उनले भने।

प्रेसर बढ्नुको मुल कारण मानसिक तनाव नै हो। मानसीक तनाव हटाउने सबैभन्दा राम्रो उपाए ध्यान हो। ‘ध्यान गर्ने गर्दा मानसिक तनावसमेत कम हुन्छ जसले गर्दा प्रेसर सामान्य हुन्छ। बिहानको ५ देखि १५ मिनेटसम्म भए पनि ध्यान गर्दा दिनभरी सकारात्मक सोच आइरहन्छ,’ उनले भने, ‘मैले धेरै बिरामीलाई ध्यान गर्न सुझाव दिन्छु कतिलाई विपस्याना जानसमेत भन्ने गरेको छु। उच्च रक्तचापको औषधी खानेहरुले ध्यान गरेमा बिस्तारै औषधी छुटाउन सजिलो हुन्छ।’

***
सन् २००७ भन्दा अगाडि उमेर अनुसार रक्तचाप फरक हुन्छ भन्ने गरिएको थियो। तर २००७ पछि यो भनाई पनि गलत साबित भइसकेको वैद्यले दाबी गरे।

अहिले जुनसुकै उमेरका मानिसको पनि प्रेसर माथि १२० र तलको ८० नै हुनु राम्रो मान्ने गरिन्छ। तर मधुमेहका बिरामीका लागि भने १४० र तल ९० नै हुनुपर्छ।

१४० को तल ९० भन्दा बढी तीन पटक भए औषधि खानु पर्छ। तर एक पटक मात्र प्रेसर यस्तो भएमा खानुपर्दैन। १८० भन्दा माथि गएमा पहिलो पटकमै औषधी खानुपर्छ। फेरि औषधि खान थालेपछि सधै खानुपर्छ भन्ने होइन प्रेसर घटेपछि छोड्न मिल्छ।

‘आज १८० भयो औषधि खायो अर्को दिन सामान्य भयो भने औषधी खानु् पर्देन त्यो दिनको कारण पत्ता लगाउनुपर्छ । त्यो दिन कसैसँग झगडा पो गरेको थियो कि त्यो दिन मदीरा धेरै पिएको थियो कि धेरै खुसी पो भएको थियो कि। खुसी धेरै हुँदा पनि प्रेसर बढ्न जान्छ।’,उनले भने।

ब्लड प्रेसरबारेको भ्रम

ब्लडप्रेसरबारे हाम्रोमा भ्रम पनि छ । प्रेसर बढ्नसाथ औषधी खानुपर्छ र यो छोड्न मिल्दैन भन्ने एउटा ठूलो भ्रम छ।

कतिपय बिरामीको डाक्टरले प्रेसर नाप्नासाथ बढ्ने गरेको उनको अनुभव छ। वैद्य थप्छन् ‘नर्सले प्रेसर नाप्दा प्रेसर सामान्य हुन्छ त्यस्तो बिरामीले औषधी कुनै हालतमा खानु हुँदैन । यसलाई ब्लड प्रेसरको क्याटगोरीमा ह्वाइट कोर्ट प्रेसर भन्दछ । डक्टर भन्नेबित्तिकै प्रेसर बढ्छ।’

६० वर्ष उमेर पुगेपछि भने प्रेसरको कारण खोज्ने भन्दा पनि प्रेसरको औषधि खानुपर्छ। प्रेसरको औषधी खाएपछि मुटु पनि बलियो हुन्छ। प्रेसरको औषधीले प्रेसर नियन्त्रण गर्ने मात्रै होइन मुटुलाई समेत बलियो बनाउँछ।

६० वर्ष कटेपछि सामान्य मानिसले पनि प्रेसरको औषधि खाएमा त्यसले मुटुलाई बलियो बनाउने उनको बुझाइ छ।

मानिसको सोचाइले पनि प्रेसरमा फरक पार्छ। प्रेसरको औषधि खाइरहेको मानिसले डाक्टरको सल्लाह बिना औषधी छोड्नु हुँदैन। प्रेसर सामान्य भइरह्यो भने डाक्टरको सल्लाहमा औषधी छोड्न सकिन्छ । प्रेसर सामान्य भएपछि औषधी कम गर्दे गएर औषधी छोड्न सकिन्छ।

प्रेसर बढ्नसाथ तत्काल यस्तो गर्ने

कुनै पनि बेलामा प्रेसर बढ्यो भने अक्कुप्रेसर गर्न सकिन्छ। बुढी औंला र चोर औलाको बिचमा थिचेर चलाइरहेमा प्रेसर तुरुन्तै कम हुन्छ। ध्यान गर्न सक्यो भने त्यो धेरै राम्रो हुने डा.बैद्यको भनाई छ। उनी भन्छन् ‘तुरून्तै प्रेसर घटाउन पर्‍यो भने अक्कुप्रेसर नै राम्रो उपाए हो। बुढी औंला र चोर औलाको बिचमा थिचेमा १० मिनेटमा नै प्रेसर सामान्य हुन्छ। मुटुको धड्कन बढ्यो भने आँखा चिम्लेर आँखाको नानीलाई चलायो भन मुटुको धड्कन सामान्य हुन्छ।’

प्रेसर बढेपछि के खाने के नखाने ?

प्रेसरका बिरामीले खान नहुने भन्ने केही पनि छैन। ‘प्रशस्त मात्रामा व्यायाम गर्न सकेमा सामान्य मात्रामा जे खाने कुरा पनि खान हुन्छ। हामीले जति खान्छौ त्यति खर्च नगरे मात्रै समस्या हुन्छ,’ वैद्यले भने।

प्रेसर बढे के गर्ने

पानीको मात्रा बढाउन हुँदैन। एकै चोटी धेरै पानी पियो भने पनि प्रेसर बढ्छ। एक पटकमा एक गिलास मात्रै पानी पिउनुपर्छ।

बिहान उठ्ने बित्तीकै एक लिटर पानी पिउने त्यसको एक घण्टापछि फेरि अर्को लिटर पानी पिउने कतिपयको बानी हुन्छ यस्तो कहिल्यै गर्नुहुँदैन।

धेरै हिँडेर, व्यायाम गरेर, काम गरेर पसिना नै पसिना आएको बेलामा एक पटकमा एक लिटर पानी पिउन पनि सकिन्छ त्यस्तै पखला लागेको बिरामीले समेत एक पटकमा एक लिटर पानी पिउन सक्छ तर कोठाको तापक्रममा बसेको सामान्य व्यक्तिले २ सय देखि ३ सय मिलिलिटर मात्रै पानी पिउनुपर्छ।

पानी कम पिएमा किड्नीलाई काम गर्न अफ्ठेरो पर्छ जसले गर्दा प्रेसर बढ्छ पानी धेरै पियो भने पनि किड्नीले फाल्न सक्दैन अनि प्रेसर बढ्छ। एक जना व्यक्तिले एक दिनमा डेढदेखि तीन लिटर पानी पिउनुपर्छ।

नुनबिना मानिस बाच्न सक्दैन त्यसैले प्रेसर बढ्यो भन्दैमा नुन खान बन्द गर्न हुँदैन। नुन कम खाने हो तर खादै नखाने होइन। २४ घण्टामा ५ ग्रामदेखि ६ ग्रामसम्म नुन एउटा व्यक्तिले खानैपर्छ। तर नुन चर्को या थपेर खानु हुँदैन।

‘कतिपए बिरामीहरू मत नुन नखाएर प्रेसर नियन्त्रण गर्छु भन्छन् त्यो सरासर गलत हो, वैद्यले भने, ‘मुटु चल्नको लागि सोडीयम र पोटासियम अनिवार्य छ त्यो नुनबाट प्राप्त हुन्छ त्यसैले प्रेसर नियन्त्रण गर्ने नाममा नुन खान बन्द गर्ने गम्भीर गल्ती गर्नु हुँदैन।’

चिल्लो पदार्थ कम खानुपर्छ। एक पटक प्रयोग गरेको तेल प्रयोग गर्नै हुन्न। बढी चिल्लो खानेकुरा खादा प्रेसर बढ्छ । बोसो भएको मासु पनि खानु हुँदैन। सकिन्छ भने रातो मासु खान बन्द नै गर्नुपर्छ। यसले युरिक एसिड पनि बढाउँछ र कोलस्टोर पनि बढ्छ।

सहरी क्षेत्रमा धेरै मुटुको समस्या भएको नै बोसो भएको मासु खाएर हो।

कफीले पनि प्रेसर बढाउँछ कफी बढी खायो भने रगतको नसाहरु खुम्चिन्छ जसले गर्दा प्रेसर बढ्न जान्छ। प्रेसर कम छ भने तुरुन्तै एक गिलास कफी पिउन दियो भने प्रेसर सामान्य भइहाल्छ। त्यस्तो बेलामा झोल पदार्थ पनि खान दिनुपर्छ।

करेलाले प्रेसर घटाउँछ भन्छन् तर, यो अहिलेसम्म प्रमाणित भइसकेको छैन। आयुर्वेदमा करेलाको ट्यापलेट पनि बनाएको छ। तर अहिलेसम्म मेडिकल्ली प्रमाणित नभएको वैद्यले बताए।

सबैभन्दा खतरनाक चुरोट हो यसले रगतको नली बिगार्छ। धेरै रक्सी खानेलाई त शतप्रतिशत नै असर गर्छ । रक्सीले पहिलो असर लिभरमा गर्छ भने दोस्रो मुटुमा।

रक्सीले मुटुलाई गलाउदै लैजान्छ जसले गर्दा मुटु कमजोर हुन्छ। हृदयघात र रक्सीको सिधा सम्बन्ध भने छैन। हुनत बिश्व स्वास्थ्य संगठनले रक्सी खानु भनेको छैन तर नखानु भनेर प्रमाणित पनि गर्न सकेको छैन। साभार सेतो पाटी डट कम

बरिष्ठ मुटुरोग बिशेषज्ञ प्रेमराज वैद्यसँग सेतोपाटीले गरेको कुराकानी

error: Content is protected !!