‘नेपाल भारतबीच स्थानीय संयन्त्रको आवश्यकता’

वीरगन्ज– नेपाल र भारतको सीमा काठमाडौ र दिल्लीको नजर भन्दा पनि जनस्तरको नजरले हेर्नु पर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

मानव अधिकार पत्रकार संघ(हुर्जा) काठमाडौले दुई देशका समस्या बारे मंगलबार आयोजना गरेको भर्चुअल छलफलमा वक्ताहरुले दुई देशबीचको बहुआयामिक सम्बन्ध र समस्याबारे चर्चा गरेका थिए ।

सीमामा हुने समस्या समाधान गर्न एक स्थानीय संयन्त्रको आवश्यकता औल्याएका थिए ।

कार्यक्रममा पूर्व पराराष्ट्रमन्त्री भेखबहादुर थापाले खुला सीमाले ल्याउने द्वन्द्वलाई व्यवस्थापन गर्न दुबै पक्षको संयन्त्रलाई काम लगाउन सकिने बताए ।

वरिष्ठ पत्रकार अखिलेष उपाध्यायले सरकारी तहमा भन्दा पनि जनस्तरको संवादले बढी प्रभावकारी काम गर्ने जनाए । ‘यो अनौपचारिक कुटनीति हो,’ उनले भने, ‘लागू औषध, अवैध हतियार, सुरक्षा लगायतका समस्या सीमामा छन् ।’

भारत विहारको रक्सौल निवासी प्राध्यापक अनिल कुमार सिन्हाले नेपालसंगको सम्बन्ध राजनीतिले होइन् सांस्कृतिक र अरु सामाजिक सम्बन्धले अनुप्रमाणित गर्ने बताए ।

वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले लागू औषधको अवैध कारोबार ठूलो समस्याको रुपमा देखिएको बताए । ‘नेपालमा गैरकानूनी भएको लागू औषध उता खुला रुपले बिक्री वितरण हुन्छन्,’ उनले भने, ‘उता गैरकानूनी कुरा यता कानूनी भएकाले समस्या देखिएको छ । यसलाई जोड्न संयन्त्र आवश्यक छ ।’

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले कोरोना महामारीका कारण बन्द गरिएका नाकाका कारण नेपालमा महंगी चुलिएको जनाए ।

पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठले सञ्चारकर्मी र नागरिक समाजले सदभावनादुतको काम गर्न सक्ने धारण राखेका थिए ।

मिडिया फोर बोर्डर हारमानीका अध्यक्ष अमरेन्द्र तिवारीले नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध हुदा पनि भारतले बोर्डर खोलिसक्दा पनि नेपालले हालसम्म बोर्डर नखोल्दा नागकिरले अनेक समस्या बेहोर्नुपरेको सुनाए ।

उद्योगी अशोक कुमार वैद्यले काठमाडौ र दिल्लीलाई सीमाको समस्या थाहा नहुने भएकाले जनसंवादबाटै पहल गर्न आवश्यक रहेको औल्याए ।

सीमा जागरण मञ्चका महेश अग्रवालले सीमाबन्द भएकाले आवतजावतमा समस्या भएको बताए ।काठमाडौं र दिल्लीको चिसोपनले सीमामा असर गरेको उनले बताए । उनका अनुसार नेपाल र भारतबीच तीन प्रकारको सम्बन्ध छ ।

पर्सा प्रहरी प्रमुख गंगा पन्तले दुई देशबीच हुने विहावारी पछि हुने घरेलु हिंसा, मानव बेचबिखन, लागू औषधको समस्या रहेको बताइन् ।

ठाकुरराम बहुमुखी क्याम्पसका सह प्रध्यापक बिरेन्द्र प्रसाद साहले खुला सीमामा बलियो संयन्त्र निर्माण गर्न आवश्यक रहेको बताए ।

हुर्जाका अध्यक्ष घनश्याम खडकाले अगामि दिनमा दुबै देशका सञ्चारकर्मी, नागरिक समाजका अगुवा राखेर संवादलाई अगाडि बढाइने जनाए ।

error: Content is protected !!