ऐतिहासिक स्थलहरुको संरक्षण र संवर्द्धनमा सबैपक्षले ध्यान दिनुपर्छ : प्रजीअ तामाङ

वीरगञ्ज ५ पुष । अंग्रेजको फौजलाई पराजित गरी विजय प्राप्त गरेको पर्साको ऐतिहासिक स्थल पर्सागढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबैको चासो र चिन्ता हुनुपर्ने जिल्लाका सरोकारवालाहरुले बताएका छन् ।

पर्सागढी नगरपालिकाको सहयोगमा होटल तथा पर्यटन व्यवसायी संघ पर्यटन पत्रकार संघ र नेपाली सेनाको चण्डी प्रसाद गणले (शनिबार) हिजो संयुक्त रुपमा आयोजना गरेको पर्यटन प्रवर्द्धन लागि अवलोकन भ्रमणका क्रममा सरोकारवालाहरुले यस्तो जोड दिएका हुन् ।

पर्सागढी नगरपालिकाको वडा नम्बर ६ स्थित जिंगनामा आयोजना गरिएको कार्यक्रममा बोल्दै पर्साका प्रमुख जिल्ला अधिकारी आसमन तामाङले सार्वजनिक सम्पक्तिहरु राष्ट्रको आयस्रोत भएकोले ऐतिहासिक स्थलहरुको संरक्षण र संवर्द्धनमा सबैपक्षले ध्यान दिनुपर्ने बताए । उनले सार्वजनिक सम्पत्ति कसैले अतिक्रमण गरेको या हडपेका छन् भने त्यस्ता सम्पक्ति राज्यको नाममा ल्याउन र अतिक्रमण गर्ने जोसुकै र जस्तोसुकैलाई पनि कारवाही गर्ने चेतावनी दिए ।

नेपाली सेना चण्डी प्रसाद गण वीरगञ्जका प्रमुख सेनानी मदनजंग राणाले पूर्खाले अंग्रेजहरुसँग लडेर विजय प्राप्त गरेको ऐतिहासिक स्थालहरुलाई संरक्षण समेत गर्न सकिएन भने आउने पुस्ताले सराप्ने भन्दै ऐतिहासिक स्थलहरुको संरक्षण र विकासका लागि नेपाली सेनाले पनि पहल गरिरहेको बताए ।

कार्यक्रममा पर्सागढीका प्रमुख लोकनाराययण यादवले इतिहासको वर्णन गर्दै विक्रम सम्बत १८७१ मा अङ्ग्रेज सेनाहरू पर्सागढीको सिमानामा आएर विश्राम गरी पहिलो जनवरीमा नयाँ वर्ष मनाइरहँदा स्थानीय रञ्जीत चौधरीको सहयोगमा नेपाली गोर्खाली सेनासँग मिलेर तिलावे र सिंघाई खोलामा बाँध बाँधेर साँझको समयमा सयौंको सङ्ख्यामा राँगा, गोरु, गाई, भैंसीको सिंहमा मसाल बाँधेर दुवै खोलामा तैराउँदा रातको समय अङ्ग्रेजी बटालियनले हजारौं नेपाली सेना आउँदै छन् भन्ने ठानेर डराएर भागेको र त्यसपछि ब्रिटिश सेनाले गोरुहरूमाथि आक्रमण गरी आफ्नो हतियार सिद्धाएपछि गोर्खाली सेना र गाउँले मिलेर स्थानीय हातहतियारले ब्रिटिश सेनामाथि विजय प्राप्त गरेको बताए ।

विजय प्राप्ता गरेको गढीहरु मध्यको एउटा ऐतिहासिक ठाउँ भएकोले आगामी पुस १९ गते पर्सागढीमा विजयोत्सव मनाउने नगरपालिकाले निर्णय गरेको जानकारी दिए ।

पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवको अध्यक्षतामा भएको कार्यक्रममा पर्सागढी नगरपालिकाकी उपमेयर अर्चना चौधरी, प्रमुख प्राशकीय अधिकृत सालिकराम ढकाल, पर्साकी प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शंकर आचार्य, होटल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

error: Content is protected !!