अपराध नियन्त्रणमा सहकार्य गर्ने सिमावर्ती सुरक्षा प्रमुखहरुको निर्णय

वीरगंज, १९ असोज । क्रस बोर्डरका चुनौतीमा सामुहिक समन्वय गर्ने नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा पदाधिकारीहरुले निर्णय गरेका छन् ।

नेपाल र भारत बीचमा रहेको क्रस बोर्डरको चुनौती र तिनलाई कसरी प्रभावकारी समन्वय गरेर नियन्त्रण गर्ने र न्युनिकरण गर्ने भन्ने बारे छलफल गरेर निर्णय गर्दै नेपाल भारतको सीमा क्षेत्रका सुरक्षा पदाधिकारीको जिल्ला स्तरीय समन्वय बैठक आज सम्पन्न भएको छ ।

बाराको कलैयाको होटल दरबारमा सम्पन्न बैठकले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गरी शान्ति तथा सुव्यवस्था कायम गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सीमा क्षेत्रमा हुने अवैध हातहतियार तथा बन्दोबस्तीको ओसारपसार नियन्त्रण गर्ने, अपराध तथा सो को नियन्त्रणसँग सम्बन्धित सूचनाहरुको आदानप्रदान गर्ने, चोरी निकासी तथा तस्करी नियन्त्रण गर्ने विषयमा छलफल गर्दे विभिन्न निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी असमान तामाङले जानकारी दिए ।

साथै, बैठकमा कोभिड १९ को प्रभावकारी नियन्त्रण गर्न असल अभ्यासहरुको आदानप्रदान प्रदान गरी सामुहिक रुपमा अघि बढ्ने पनि निर्णय गरेको उनले बताए ।

यसका साथै भारतको सीमावर्ती राज्य बिहारमा आगामी नोभेम्बरमा हुन गइरहेको तेस्रो चरणको राज्यसभा निर्वाचनलाई स्वच्छ, मर्यादित र निष्पक्ष सम्पन्न गर्ने सम्बन्धमा आपसी समन्वय कसरी प्रभावकारी बनाउने बारे पनि छलफल भएको उनले बताए ।

सो निर्वाचनलाई केन्द्रित गर्दै आगामी नोभेम्बरमा तीन दिन बोर्डर सिल गरी मानिस र यातायातको आवातजावत बन्द गर्ने निर्णय भएको पर्साका प्रजिअ तामाङले जानकारी दिए ।

चितवका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको नेतृत्वमा रहेको नेपाली सुरक्षा निकायका पदाधिकारी र भारतको पूर्वी चम्पारण जिल्लाका डिएम शिर्सत कपिल अशोकको नेतृत्वमा रहेको भारतीय सुरक्षा निकायका पदाधिकारी बीच बैठक भएको हो ।

नेपाली टोलीमा सीमावर्ती जिल्लाहरु पर्सा, बारा, रौतहट, चितवन, पुर्वी र पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकहरुसहित २६ जना र भारतीय टोलीमा पूर्वी र पश्चिमी चम्पारणका डिएमसहित २३ गरी बैठकमा ४९ जनाको सहभागिता रहेको थियो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!