तस्करलाई सघाएको आरोपमा प्रदेश तानिए क्राइम इन्सपेक्टर

वीरगञ्ज, ५ असोज । तस्कर संगको साठगाठ देखिएपछि पर्सा प्रहरीका एक निरीक्षकलाई आवश्यक कार्यवाहीका लागी प्रदेश प्रहरी कार्यालय जनकपुरले झिकाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्च शाखा प्रमुख रहेका प्रहरी निरीक्षक रविभुषण यादवलाई आवश्यक कार्यवाहीका लागी प्रदेश २ प्रहरी कार्यालय जनकपुरले तानेको प्रदेश प्रहरी स्रोतले जनाएको छ ।

लकडाउनको समयमा पनि पर्साको सिमानाका बाट दिउसै खुलेयाम तस्करी भइरहेको विभिन्न समाचार माध्यम तथा सर्वसाधारण बाट पनि प्रदेश प्रहरी प्रमुख डिआईजी धिरज प्रताप सिंहलाई गुनासो पुगेपछि प्रहरी निरीक्षक यादवलाई आवश्यक कार्यवाहीका लागी सोमबार बिहानै तानिएको प्रदेश प्रहरी स्रोतले जनायो ।

प्रहरी निरीक्षक यादवलाई प्रदेश कार्यालयमै राखेर आवश्यक सोधपुछ तथा छानविन गरिने छ, प्रदेश प्रहरी कार्यालयका एक अधिकृतले बताए । प्रहरी निरीक्षक यादवले पर्साको सिमावर्ती प्रहरी चौकीहरुमा आफु अनुकुल इन्चार्ज पठाएर तस्करी धन्धालाई बढावा दिएर आर्थिक लाभ लिने गरेको पर्सा प्रहरी भित्रै बाट समेत गुनासोहरु प्रदेश प्रहरी कार्यालयमा पुगेको थियो ।

एक पटक सिमावर्ती प्रहरी चौकी इन्चार्ज भइसकेका प्रहरीलाई समेत उनले आफनो नाता गोताको आवरणमा दोस्रो पटक पनि अन्य सिमावर्ती प्रहरी चौकीको जिम्मेवारीमा पठाएर उनले आर्थिक लाभ लिने गरेका थिए ।

प्रहरी निरीक्षक यादवले आफु अनुकुल भनेर पठाएका सिमावर्ती प्रहरी चौकीहरुको नाका बाट अहिले पनि खुलेयाम तस्करी भइरहेको छ । वीरगञ्जको इनर्वा, छपकैया, सिर्सीया ड्राईपोर्ट अलौ, धोरे, सबैठवा लगाएतको नाकाहरुमा प्रहरी निरीक्षक यादवले आफु अनुकुलका इन्चार्ज पठाएर तस्करी कार्यलाई बढावा दिएका थिए ।

सरकारले असोज ३० गते सम्मका लागी भारत संग जोडिएको सिमानाका सिल गरेको भनेपनि व्यवहारमा भने पर्साका यि सिमानाकाहरुबाट अहिले पनि मानिसको आवत जावत तथा अवैध भन्सार चोरी पैठारीका समानहरु धमाधम भित्रिरहेका छन ।

प्रहरी निरीक्षक यादव तानिए पनि उनले पठाएका इन्चार्जहरुले अहिले पनि तस्करी कार्यलाई रोक्ने छाटगाठमा देखिएका छैनन आफुहरु जति दिन बसे लखनउ लुट मचाएर जाने अभिप्रायले निर्वाध रुपमा तस्करी गराइरहेका छन ।

तस्करी नियन्त्रण गर्न पर्साको सिमावर्ती चौकीहरु तर्फ पनि प्रदेश प्रहरी कार्यालयको ध्यान पुग्न जरुरी देखिन्छ ।

error: Content is protected !!