पर्सा, बारा र रौतहटका ४ जना संक्रमितको वीरगञ्ज कोरोना अस्पतालमा मृत्यु

बीरगन्ज, ४ असोज।  बीरगन्जमा एकैदिन चार संक्रमितको मृत्यु भएको छ । पर्साका २ जना, बाराका १ जना र रौतहटका १ जना गरी चार जनाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक जयमोद ठाकुरले जानकारी दिए । मृत्यु हुने सबै पुरुष हुन् ।

पर्साका मृत्यु हुने दुई जना बीरगन्ज महानगरपालिका वडा नं. ४ विर्ता र वडा नं. ६ रेशमकोठीका बासिन्दा हुन् ।मृत्यु हुने विर्ताका ७८ वर्षीय पुरुष श्वासप्रश्वासमा समस्या भई गत भदौ ३१ गते एनएमसी बाबा होटल अस्थायी कोभिड अस्पतालमा भर्ना भएका थिए ।

ती पुरुषमा सोही दिन कोरोना संक्रमणको पुष्टि भई उपचाररत रहेकोमा हिजो ४ बजे मृत्यु भएको स्वास्थ्य निरिक्षक ठाकुरले बताए । वडा नं. ६ निवारी अर्का ८८ वर्षीय पुरुषको भने आज बिहान १ बजे मृत्यु भएको हो ।

दमका रोगी ती पुरुष बिरामी भई नारायणी अस्पतालमा गत असोज २ भर्ना भएकोमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु पश्चात गरिएको कोरोना परिक्षणमा उनको रिपोट पोजेटिभ आएको थियो ।

कलैया उपमहानगरपालिका-१३ बलिरामपुर बस्ने ६५ वर्षीय पुरुष र रौतहटको गौरका ६१ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार बिहान नेसनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको हो । यस्तै, कलैयाका पुरुषको आज बिहान ५ बजे र रौतहटका पुरुषको साढे ७ बजे उपचारकै क्रममा मृत्यु भएको ठाकुरले बताए ।

कलैयाका व्यक्ति प्यारालाइसिसका बिरामी थिए । उनको मिर्गौलामा समेत समस्या देखिएपछि उपचारका लागि असोज १ गते बीरगन्ज ल्याइएको थियो । नेसनल मेडिकल कलेजमा उपचारको क्रममा सोही दिन पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसँगै बारामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । अर्का मृतक गौरका ६१ वर्षीय पुरुषमा उच्च रक्तचाप, मधुमेह र मुटु सम्बन्धी समस्या थियो । असोज १ गते नै अस्पतालमा भर्ना भएका उनको सोही दिन पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

error: Content is protected !!