पर्सा र बारामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, २१ भदौ । पर्सा र बारामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको पिसिआर परीक्षणमा पर्सा र बारामा थप २६ जनामा संक्रमण देखिएको हो।

जसमा सबै भन्दा बढी पर्सा जिल्लाका २४ जना रहेका छन्। संक्रमित हुनेमा १४ वर्षदेखि ६४ वर्षसम्मका रहेका छन्।

शनिबार राति प्रयोगशालामा ५ सय १० जनाको स्वाब परीक्षण गरिएकोमा पर्सका २४ र बाराका २ मा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए।

उनले ५ महिला र २१ जना पुरूषमा कोरोना देखिएको बताए। २६ जनामध्ये जिन एक्स्पर्ट प्रविधिबाट परीक्षण गरिएकोमा एकजनामा संक्रमण पुष्टि भएको हो।

पर्साका २४ जनामध्ये वीरगन्ज महानगरपालिकाका विभिन्न वडामा २२ जना संक्रमित थपिएका छन्।

जसमध्ये वीरगन्जमा रहेको नबिल बैंकका ५ जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ।

वीरगन्जस्थित कृषि औजार कारखानामा रहेका दुईजना शसस्त्र प्रहरी पनि संक्रमित भएका छन्।

पर्साको कालिकामाई गाउँपालिकाको वडा नम्बर ४ का एकजना ५३ वर्षीय पुरूष र जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ की १६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पर्साका बिभिन्न ठाउँमा निर्माण गरिएको आइसोलेशनबाट शनिबार मात्रै ९८ जना संक्रमित कोरोना मुक्त भएका छन्।

पछिल्लो पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि बिभिन्न उमेर समूहका ९८ जनालाई डिस्चार्ज गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

 

error: Content is protected !!