वीरगञ्जमा निषेधाज्ञा भदौ २५ गते सम्म, बजार आलो-पालोमा खुल्ने

वीरगञ्ज, १८ भदौं । वीरगञ्जमा लागेको निषेधाज्ञा भदौं २५ गतेसम्म लम्बिने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले बिहिबार दिउँसो एउटा सूचना जारी गर्दै आज राति १२ बजेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर भदौं २५ गते १२ बजे रातिसम्म गर्न जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको हो । निषेधाज्ञा लम्बिएपनि बजार क्षेत्रलाई आलो-पालो गरेर खोल्न दिने बैठकले निर्णय लिएको छ ।

बैठकको निर्णय अनुसार सोमबार, बुधबार र शुक्रबार वीरगञ्जको मुख्य बजारमा रहेका पूर्वतर्फ र दक्षिणतर्फ फर्केका पसलहरु खोल्न पाइनेछ भने आइतबार, मंगलबार र बिहिबार बजारमा रहेको पश्चिमतर्फ र उत्तरतर्फ फर्केका पसलहरु खोल्न पाइनेछ ।

त्यसैगरी घण्टाघर नजिकै रहेको रेलवेको जग्गामा फलफूल र तरकारी पसल दैनिक रुपमा खोल्न पाइने प्रशासनले जनाएको छ । पसल खोल्दा कम्तिमा पनि १५ फिटको दूरी बनाएर घण्टाघर चोकदेखि २ सय मिटर रहेको स्कुलदेखि दक्षिणतर्फ एक तर्फी रुपमा मात्र पसलहरु खोल्नुपर्ने प्रशासनको निर्देशन छ ।

मुख्य बजारका पसलहरु बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइनेछ भने फलफूल र तरकारी पसलहरु बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाइने छ । तरकारी-फलफूलदेखि बजार क्षेत्रका पसलका सम्पूर्ण पसलहरु शनिबार बन्द गरेर राख्नुपर्ने प्रशासनले निर्देशन दिएको छ ।

त्यस्तै जिल्लाभित्र सम्पूर्ण प्रकारका निजि तथा सार्वजनिक यात्रुवाहक सवारी साधनहरु अर्को सूचना नआएसम्म सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि मेला, महोत्सव, जात्रा, भिडभाड, सभा जुलुस र चार जना भन्दा बढी समुह बनाएर एकै ठाउँमा जम्मा हुन् पाइने छैन ।

परमपरागत रुपमा भई आइरहेको दैनिक रुपका आन्तरिक नित्य पूजा बहेका सम्पूर्ण धार्मिक संस्कृतिक गतिबिधिहरु समेत सञ्चालन गर्न पाइने छैन ।

सम्पूर्ण शैक्षिक संस्था, सैलुन, ब्युटी पार्लर, जिम, क्लब, स्वीमिङ्गपूल, समुहमा खेलिने खेलमा समेत रोक लगाईएको छ भने होटल रेस्टुराँ सञ्चालन समेत गर्न पाइने छैन ।

प्रशासनले १२ वर्ष मुनि र ६० वर्षमाथि र कुनैपनि गम्भीर किसिमको दिर्घरोगिलाई घरबाट बाहिर ननिस्किक्न विशेष अनुरोध गरेको छ ।

error: Content is protected !!