सिमा क्षेत्रको निरीक्षण गर्दै डिआइजी ब्रहम्चार्यले भने नागरिकको जिवन रक्षा गर्न सिमामा कडाई आवश्यक

श्याम कुशवाहा/वीरगञ्ज, १६ भदौ । सशस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण भक्त ब्रहम्चार्यले पर्साका विभिन्न सिमा नाकाहरुको स्थलगत निरीक्षण गरेका छन ।

खुला सिमानाकाको कारण भारतीय नागरिकको घुषपैठ तथा अवैध तस्करी गतिविधि बढेको गुनासो बढेपछि स्थलगत अनुगमनमा निस्केका डिआईजी ब्रहम्चार्यले सोमबार वीरगञ्जको मुख्य भन्सार नाका स्थित दशगजा क्षेत्रमा पुगेर सिमानाकाको जायजा लिएका थिए ।

त्यसैगरी सिर्सीया छोटी भन्सार नाका तथा अलौ स्थित सिमानाकामा पुगेर त्यसक्षेत्रको अवस्थाको बारेमा जानकारी लिएका थिए ।

भन्सार सुरक्षामा खटिएका सशस्त्र प्रहरीको युनीट र सिर्सीया बोर्डर आउट पोष्ट तथा अलौ बोर्डर आउट पोष्टमा पुगेर सशस्त्र प्रहरी कर्मचारीहरुलाई सिमानाकामा भारतीय नागरिकहरुको प्रवेश तथा अवैध तस्करी गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका थिए ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले नेपाल समेत अक्रान्त बनेको अवस्थालाई मध्यनजर गर्दै सरकारले अन्तराष्ट्रिय सिमानाकाहरु सिल गरेपनि पर्सा र बाराको सिमा नाकाहरुबाट भारतीय नागरिकहरु खुलेयाम नेपाल प्रवेश गरिरहेको तथा पोके तस्करी समेत बढी रहेको जनगुनासोलाई आफुले गम्भीरता पुर्वक लिएर सिमानाकाहरुमा कडाई गर्न निर्देशन दिएको डिआईजी ब्रहम्चार्यले बताउनु भयो ।

बाराको बलिरामपुर र पर्साको अलौ सिवान टोला भन्ने ठाउहरुबाट अलिक गडबडी भएको आफुले पनि सुनेको बताउदै त्यस क्षेत्रका विओपी ईन्चार्जहरुलाई उक्त नाका क्षेत्रमा थप कडाई गर्न आवश्यक निर्देशन समेत दिएको उहाले बताउनु भयो ।

अहिले नागरिकको जिवन रक्षा पहिलो प्राथमिक्तामा राखेर सशस्त्र प्रहरीले सिमा क्षेत्रमा १८ घण्टा सम्म डियुटीमा खटिरहेको बताउदै कहिँ कतै एकाध ठाउबाट अलीक कमजोरी पनि भएको हुन सक्छ त्यसलाई सुधार गरेर थप जिम्मेवारीका साथ काम गर्नु पर्ने अहिलेको अवस्था रहेको बताउनु भयो ।

अनुगमनमा डिआइजी ब्रहम्चार्य संगै सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका, वरिष्ठ पत्रकार महेश दास, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, पत्रकार श्याम कुशवाहा लगाएतको उपस्थिती रहेको थियो ।

error: Content is protected !!