वीरगंजमा लायन्स क्लबको निःशुल्क अक्सिजन सेवा शुरू

वीरगंज, भदौ ९ । विश्वको सबैभन्दा ठुलो सामाजिक संस्थाको रुपमा रहेको लायन्स क्लब इन्टरनेशनलका पुर्व अन्तर्राष्ट्रिय अध्यक्ष लायन रोहित मेहताको ९१ औं जन्मदिनको अवसरमा होम आइसोलेसशनमा बसेका कोरोना संक्रमितको उपचारलाई लक्षित गरी सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंजमा आजदेखि ‘लायन्स अक्सिजन बैंक’ को स्थापना गरी निःशुल्क अक्सिजन सेवा शुरू गरिएको छ ।

वीरगंज र आसपासका क्षेत्रमा समुदायस्तरमा कोरोनाका संक्रमण बढ्न थालेपछि वीरगंजका लायन्स क्लबहरूको सक्रियतामा निःशुल्क अक्सिजन सेवा सञ्चालन गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएका संक्रमितहरुलाई लक्षित गरी वीरगंजका लायन्स क्लबहरूको आर्थिक सहयोगमा निःशुल्क सेवा थालिएको निःशुल्क अक्सिजन सेवाका संयोजक एवं लायन्स क्लबका जोन चेयरपर्सन लायन अनुप अग्रवालले बताउनुभयो ।

होम आइसोलेसनमा बसेकाहरूलाई श्वासप्रश्वासमा समस्या भएको खण्डमा तत्कालै अक्सिजन उपलब्ध गराउन यो सेवा शुरु गरिएको जानकारी उहाँले दिनुभयो ।

कार्यक्रममा लायन्स क्लबका पुर्व इन्टरनेशनल डाइरेक्टर लायन संजय खेतान र पुर्व मल्टीपल काउन्सिल चेयरपर्सन लायन रमेश अग्रवालले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तलाई अक्जिसनका सिलिण्डर, रेगुलेटर, पाईप, स्यानिटाइजर र पन्जासहितका सामग्री हस्तान्तरण गर्नुभएको छ ।

अहिले साढे १ क्युबिक मीटरका ५ र ७ क्युबिक मीटरका १० ओटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो ।
आवश्यकताअनुसार सिलिण्डरको संख्या बढाउने योजना रहेको अग्रवालले बताए । निःशुल्क अक्सिजन सेवा जिल्ला प्रहरी कार्यालको कोभिड हेल्प डेस्कमार्फत प्रदान गरिने छ ।

लायन्स क्लबका एरिया कोचिफ लायन बिनय बंसलको सभापतित्वमा भएको कार्यक्रममा लायन्स क्लबका स्ट्र्याटेजिक चिफ लायन राम बिहारी पाण्डे, रिजन चेयरपर्सन लायन रिकेश साह, डिष्ट्रीक्ट डिपार्टमेन्ट मेम्बर लायन विजय कुशवाहा, लायन्स क्लब अफ वीरगंजका अध्यक्ष लायन विजय गुप्ता, परिवारका अध्यक्ष लायन श्याम गुप्ता, गेटवेका अध्यक्ष लायन विवेक बेरीवाल, आदर्शनगरका अध्यक्ष लायन संजय कुमार खेतान, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षकद्वय गौतम थापा, मन्जित कुँवर, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक कमलराज पंडित, सरोज प्रजापति, भाजुरत्न ईन्जिनियरिङ्ग एण्ड सेल्सका तर्फबाट संतोष खनाल लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण लायन्स क्लबका स्ट्र्याटेजिक चिफ लायन देवकी नन्दन अग्रवालले गर्नुभएको थियो ।

error: Content is protected !!