पर्सामा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका चिकित्सक डा.निरजकुमार सिंहका अनुसार १७ महिलासहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६६ जना संक्रमितमध्ये २५ जना पर्साको बहुदरमाई नगरपालिकाका बासिन्दा हुन् । बहुदरमाई नगरपालिका–४ बहुअरीका २० जना र अन्य वडाका ५ जना संक्रमित छन् ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा गत साउन ३० मा बहुदरमाई स्वास्थ्य चौकीमा ७७ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका ५ जना र वडा प्रहरी कार्यालय विर्ताका २ जना गरी सात जना प्रहरीमा पनि कोरोना पोजिटिभ देखिएको डीएसपी मनोजित कुँवरले जनाए ।

यसैगरी वीरगन्ज महानगरपालिका–१० मुर्ति चोकका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जको छपकैयका ५ जनामा पनि कोरोना पोजिटिभ देखिएको छ ।

संक्रमितमध्ये ९ जना बाराका बासिन्दा हुन् । बाराको परसौनी गाउँपालिकामा ४ जना, पिलुवामा तीन, सिम्रौनगढ७ मा एक र कलैया–६ मा एकजना संक्रमित थपिएका छन् ।

error: Content is protected !!