वीरगञ्जमा कोरोना संक्रमणबाट एकै दिन तिनजनाको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा बिहीबार मात्रै कोरोना संक्रमणबाट तीनजनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट ५६ वर्षीय भरतीय नागरिकसहित  ३५, र ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।

दुई कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो भने एकजनाको घरमै मृत्यु भएको हो।

वीरगञ्ज पथलैया औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कोरोना संक्रमणबाट मृत्यु भएको छ। ५६ वर्षीय सिइओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो।

कोरोना अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार सीइओ लामो समयदेखि मुटुसम्बन्धी रोगबाट ग्रस्त थिए। उनको केही समयअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो।

संक्रमण पुष्टि भएपछि गत साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएका थिए। शरीरमा अक्सिजन कम भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको भए पनि बिहीबार राति साढे ११ बजे उनको मृत्यु भएको डा. सिंहले जानकारी दिए।

वीरगञ्ज–१६ नगवाका ३५ वर्षीय पुरुषको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा निधन भएको छ। ज्वरो आउने, श्वासप्रस्वासमा समस्या लिएर मंगलबार  आइपुगेका उनको स्वाबको नमुना लिएर इमजेन्सीमा भर्ना गरिएको थियो।

उनको उपचारको क्रममा बिहीबार साँझ पौने आठ बजेतिर मृत्यु भएको डा. सिंहले जानकारी दिए। ज्वरो आएपछि उनी साउन ५ गते निजी क्लिनिकमा पुगेका थिए। तर, स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई हस्पिटलमा भर्ना गरिएको थियो।

त्यहाँबाट उनलाई सोही दिन कोरोना अस्पतालमा रिफर गरिएको थियो। मृत्युपछि बिहीबार राति उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको डा. सिंहले बताए।

वीरगञ्जमा बिहीबार बिहान एक जनाको मृत्यु भएको छ। घरमै मृत्यु भएका उनमा पनि कोरोना पुष्टि भएको छ।

वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। घरमै मृत्यु भएको जानकारी आएपछि नारायणी अस्पतालको टोलीले गएर दिउँसो स्वाब संकलन गरेको थियो। बेलुका पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको डा. सिंहले जानकारी दिए।