कोरोना संक्रमण रोक्न वीरगञ्ज महानगरमा शनिवार देखि अनिश्चितकालीन निषेधाज्ञा

वीरगञ्ज ९ सावन । वीरगञ्ज महानगरपालिका क्षेत्रमा शनिबारबाट अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले शनिबार बिहान ५ बजेदेखि वीरगञ्ज महानगरमा मात्र निषेधाज्ञा जारी गरेको हो ।

सुरक्षा समितिको बैठकले बृहत् सर्वपक्षीय बैठकको माध्यमबाट निर्णय लिने भनेपछि शुक्रबार सर्वपक्षीय बैठक बसेको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीको अध्यक्षतामा भएको बैठकले लकडाउन, कर्फ्यु र निषेधाज्ञा के लगाउने भन्ने विषयमा छलफल भएको र निषेधाज्ञा जारी गर्ने कुरामा सर्वसहमति भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा देखिएको आशङ्कापछि स्थानीय प्रशासनले राजनीतिक दल, पत्रकार, व्यवसायीसहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम बीरगन्ज महानगरपालिका क्षेत्रभित्र अर्को सूचना जारी नभईन्जेलसम्मका निषेधाज्ञा लागु हुने छ । निषेधाज्ञा अवधिभर अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निर्देशन जारी गरेको छ ।

शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, आइसीपी, ड्राईपोर्ट, बैंक, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा मात्र खुल्ला रहनेछन् ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने तथा अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने ढुवानीका साधन मात्र चल्नेछन् ।

error: Content is protected !!