पर्साका तीन स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउन सकेनन्

वीरगञ्ज । पर्सा जिल्लाको चौधवटा स्थानीय तहमध्ये तीनवटाले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सकेका छैनन् भने वीरगंज महानगरपालिकाले मात्र आव २०७७/०७८ को बजेट सार्वजनिक गरेको छ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असार १० गतेसम्म सबै स्थानीय तहलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न निर्देशन गरेको थियो।

सो अनुरूप वीरगंज महानगरपालिकालगायत पर्सा जिल्लाका १४ वटा स्थानीय तहमध्ये केहीले मात्र प्रस्तुत गर्न सक्यो। वीरगंज महानगरपालिकाले नीति तथा कार्यक्रमसहित आगामी आव २०७७/०७८ को लागि रु ३ अर्ब ८६ करोड ५१ लाखको बजेट पनि सर्वसम्मत पारित ग–यो तर केही गापाले नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि बजेट भने पारित गर्न सकेका छैनन्।

पर्सा जिल्लामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने स्थानीय तहमा पर्सागढी, बहुदरमाई, पोखरिया नगरपालिका, जगरनाथपुर, पटेर्वासुगौली, ठोरी, जीराभवानी, छिपहरमाई, सखुवाप्रसौनी गापा पनि छन्।

यसैगरी विन्दवासिनी गापाले पनि नीति तथा कार्यक्रम प्रस्तुत गरेको तर बजेट भने पारित गर्न सकेको छैन। असार २१ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेको विन्दवासिनी गापामा आजको मितिसम्म बन्दसत्र जारी छ। पालिका सदस्यहरूबीच विनियोजित बजेटका विषयमा विवाद भएको कारण नीति तथा कार्यक्रम प्रस्तुत गरिए पनि बजेट भने सार्वजनिक हुन सकेको छैन।

पटेर्वासुगौली गापाका प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले गापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमकै दिन रु ३४ करोड २८ लाखको बजेट पारित भएको बताएका छन्।

यसैगरी, छिपहरमाई गापाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले पनि नीति तथा कार्यक्रमकै दिन रु ४० करोड ७१ लाखको बजेट प्रस्तुत भएको बताए। नीति तथा कार्यक्रम प्रस्तुत गरिएपछि बजेट अनुमोदन गर्नुपर्ने हुन्छ तर कतिपयले सोही दिन गरेका थिए भने कतिपयले अहिलेसम्म गरेका छैनन्।

कालिकामाई, धोबिनी, पकाहामैनपुर गापाले असार मसान्त बित्न लाग्दा पनि नीति तथा कार्यक्रम प्रस्तुत गर्न सकेका छैनन्। धोबिनी गापाले असार २९ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मिति तोकेको छ। तर कालिकामाई र पकाहामैनपुरले अहिलेसम्म नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मिति तय गरिसकेका छैनन्।साभार -प्रतिक दैनिक

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!