प्रदेश २ मा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि, पर्साका १७ जना

वीरगञ्ज । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा पर्साका १७ जना, बाराका ९ जना, रौतहटका ७ र एक जना सर्लाहीका रहेका छन् ।

भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएकाहरुको थ्रोट स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको डा. उपाध्यायले जनाए ।

‘पर्साका १७ जना संक्रमितमध्ये तीन जना महिला हुन्,’ डा. उपाध्यायले भने, ‘बारा, रौतहट र सर्लाहीका संक्रमित १७ जना पुरुष हुन् ।’

पर्साका संक्रमितहरु २० वर्षदेखि ४५ वर्ष समूहका रहेका छन् । गत जेठ २४ मा उनीहरुको स्वाब संकलन गरिएको थियो ।

पर्साका १७ जना संक्रमितमध्ये पोखरिया नगरपालिकाको क्वारेन्टाइनका १० जना, विन्दवासनी गाउँपालिकाको झौवा क्वारेन्टाइनका दुईजना, जिराभवानी/धोबनी गाउँपालिकाका एक/एक जना, पर्सागढी नगरपालिकाको एक जना र पटेर्वासुगौली गाउँपालिकाको क्वारेन्टाइनका २ जना रहेका छन् ।

संक्रमितहरुलाई आइसोलेसन वार्डमा ल्याउने तैयारी भइरहेको छ ।

योसँगै प्रदेश २ मा संक्रमितको संख्या २ हजार ७१ पुगेको छ । प्रदेश २ मा अहिलेसम्म ३८० जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

error: Content is protected !!