वीरगञ्जमा शुक्रवारदेखी जोर-बिजोर प्रणालीमा पसल खोलिने

वीरगञ्ज । वीरगंजमा शुुक्रबारदेखि जोर/बिजोर प्रणाली अनुसार व्यवसाय सञ्चालन गर्न पाउने भएको छ ।

लामो समयदेखिको बन्दाबन्दीका कारण समग्र अर्थतन्त्रमा परेको असरलाई मध्यनजर राख्दै शुुक्रबारबाट जोर/बिजोर प्रणाली (गते) अनुसार व्यवसाय सञ्चालनको अनुमति दिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन् ।

बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जोर गतेका दिन कपडा, कस्मेटिक, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स लगायतका पसल बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्ने अनुमति दिइएको उनले बताए ।

यसैगरी बिजोर गतेका दिन हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस, अटोवक्र्स, भाँडावर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसल बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाउने बस्नेतले बताए ।

माछा, कुखुरा तथा सोको दाना, पशु आहार, खाद्य, किराना, कृषि उत्पादन, मल, बीउ, सिमेन्ट, डण्डी, जस्तापाता, कोइला, विटुमिन, तेल, क्लिन्कर, निर्माण सामग्रीहरु लगायत अन्य मालवस्तुको ढुवानी हरेक दिन साँझ ७ बजेपछि गर्न पाइने निर्णय भएको छ ।

सिनेमा हल, जिमखाना, होटल, रेष्टुरेन्ट, चियापसल (फुटपाथमा राखिएका समेत) मिठाइ पसल, मदिराजन्य पसल, सैलुन, मठ मन्दिर, मस्जिद, गुम्बा, अन्य मानिसहरुको भिडभाड हुने स्थलहरु तथा सार्वजनिक बस, रिक्सा, टेम्पो, मोटरसाइकल, साइकल लगायतका पास नभएका सम्पूर्ण सवारी साधन भने पूर्ण रुपमा बन्द रहने छन् ।

पसलहरु संचालन गर्दा स्थानीय प्रशासनले केही मापदण्ड तयार गरेको छ । सेवा प्रवाह एवं मालसामान खरिद बिक्री गर्ने क्रममा संक्रमणको जोखिम हुन नदिन भिडभाड हुन नदिने तथा उपभोक्ताहरुबीच कम्तिमा ३ फिटको दुरी कायम हुने गरी लाइन व्यवस्थापन गर्ने जिम्मेवारी सम्वन्धित संस्था÷व्यवसायीको हुनेछ ।

व्यवसायी र ग्राहक सबैले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्नेछ । बैंक, वित्तीय संस्था तथा पसलमा सेनेटाइजरको व्यवस्था गर्नुपर्नेछ । व्यवसाय संचालन तथा मालसामान खरिद गर्न जाँदा सवारी साधनको प्रयोग गर्न पाइने छैन् ।

तर बैंक, वित्तीय संस्था, औषधी पसल जस्ता अति आवश्यक सेवा संचालन गर्नको लागि सवारी साधनको प्रयोग गर्नुपर्ने अवस्थामा मुख्य शहरभन्दा बाहिर तोकिएका स्थानमा पार्किङ् गर्न सकिनेछ ।

वीरगंज उद्योग वाणिज्य संघलाई विभिन्न व्यवसायीहरुको संलग्नतामा एउटा मापदण्ड कार्यान्वयन टोली बनाइ उल्लेखित प्रावधान एवं नेपाल सरकारले निर्धारण गरेका अन्य मापदण्ड कार्यान्वयन गर्न गराउन पहल गर्ने जिम्मेवारी दिइएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र वा जिल्ला सुरक्षा निकायका प्रतिनिधिले अनुगमन गर्दा उल्लेखित प्रावधानहरुको पालना भएको नपाइएमा त्यस्ता सेवा वा व्यवसाय बन्द गराई संक्रामक रोग ऐन, २०२० तथा प्रचलित कानून बमोजिम कारवाही गर्ने सम्मको मापदण्ड तयार गरिएको छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ संक्रमणको रोकथाम, नियन्त्रणका लागि नेपाल सरकार तथा स्थानीय प्रशासनले जारी गरेको आदेशको पालना गरी साथ दिएकोमा पर्साका जनप्रतिनिधि, उद्योगी, व्यवसायी, संचारकर्मी लगायत सबैमा स्थानिय प्रशासनले धन्यवाद दिएको छ ।

error: Content is protected !!