दोषी प्रहरीलाई कार्वाही गर्ने एसपीको प्रतिवद्धता, पत्रकारहरूको आन्दोलन स्थगित

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले पत्रकारमाथि दुर्व्यवहार गर्ने दोषी प्रहरीलाई कार्वाही गर्ने प्रतिबद्धता जनाएपछि पर्सेली पत्रकारहरुको दोश्रो चरणको आन्दोलन स्थगित भएको छ ।

जिल्ला प्रहरी कार्यालयमा आज बिहान भएको छलफलमा प्रहरी उपरिक्षक पन्तले पत्रकार तिवारी यादवमाथि भएको दुर्व्यवहारको घटनामा संलग्न प्रहरी अधिकृतहरुसहितका प्रहरीहरुलाई सचेत गराउने र विभागीय कार्वाहीको लागि सिफारिस गर्ने प्रतिबद्धता जनाएको नेपाल पत्रकार महासंघ पर्साका कार्यवाहक अध्यक्ष अनुप तिवारीले जानकारी दिनुभयो ।

साथै, अब उप्रान्त यस्ता घटना दोहोरिन नदिन मातहतका प्रहरीलाई सचेत गराउने र पत्रकारहरुलाई सूचना सम्प्रेषण गर्न समेत सहज वातावरण बनाउने प्रतिबद्धता एसपी पन्तले व्यक्त गरेपछि हाललाई आन्दोलन स्थगित गरिएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी, पत्रकार यादवको खोसिएको मोबाइल फिर्ता गर्ने र कोरोना महामारी नियन्त्रण प्रयासमा प्रहरी र पत्रकार दुवै मिलेर अघि बढ्ने सहमति भएको कार्यवाहक अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्सामा भएको वार्तामा नेपाल पत्रकार महासंघ पर्साका कार्यवाहक अध्यक्ष तिवारीसहित कोषाध्यक्ष भुषण यादव, पिडित पत्रकार तिवारी यादव र प्रहरी उपरिक्षक पन्त सहितका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यसअघि, नेपाल पत्रकार महासंघ पर्साको कार्यवाहक अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा हिजो नेपाल पत्रकार महासंघ पर्साको सभा हलमा बसेको बैठकले साताव्यापी आन्दोलनको कार्यक्रम घोषणा गर्दै अन्दोलनलाई थप कडा गर्ने निर्णय गरेको थियो ।

साताव्यापी आन्दोलन अन्तर्गत आज बिहानैबाट पर्सेली पत्रकारहरुले आफु कार्यरत सन्चार माध्यम तथा सामाजिक सन्जाल मार्फत “पत्रकारसँग दुर्व्यवहार गर्ने दोषी प्रहरीलाई कारवाही गर” भन्दै दोश्रो चरणको आन्दोलन शुरु गरेका थिए ।

error: Content is protected !!