नारायणी अस्पतालमा डायलासिस र आकस्मिक उपचार सेवा सुचारु

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा आइतबारदेखि उपचार सेवा सुरु भएको छ ।

चैत २९ गते वीरगन्जमा पहिलो पटक कोरोनाका ३ संक्रमित फेला परेपछि संघीय सरकारले नारायणी अस्पताललाई कोभिड अस्पतालको रुपमा संचालन गरेको थियो ।

चैत ३० गते नारायणी अस्पतालमा कोरोनाका ३ संक्रमित भर्ना गरेर अन्य सबै उपचार र सेवा बन्द गरिएको थियो ।

नारायणी अस्पतालमा कोरोना संक्रमितलाई भर्ना गरेर अन्य सबै उपचार सेवा बन्द हुँदा त्यसको चर्को विरोध हुँदै आएको थियो ।

तर, अस्पतालमा भर्ना गरिएका सबै कोरोना संक्रमित उपचारपछि निको भएर घर गएपछि अस्पतालमा आइतबारदेखि फेरी उपचार सेवा सुरु गरिएको हो।

नारायणी अस्पतालमा भर्ना भएका संक्रमित क्रमश निको भइ घर फर्किएपछि जेठ १२ गते देखि खाली भएको थियो ।

त्यसयता फेला परेका संक्रमितलाई भने गण्डक हस्पिटलमा संचालित अस्थायी कोभिड अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।

आइतबारदेखि नारायणी अस्पतालमा डायलासिस र आकस्मिक उपचार सेवा सुचारु गरिएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए । उपाध्यायले नारायणी अस्पताल कोभिड -१९ अस्पतालबाट साधारण अस्पतालमा परिणत भएको मुलुककै पहिलो अस्पताल रहेको पनि बताए।

कोरोना संक्रमित सबैलाई निको बनाएर घर पठाएपछि जेठ १२ गते खाली भएको नारायणी अस्पतालमा सरसफाइ र निसंक्रमण गरेर आइतबारदेखि साधरण अस्पतालमा परिणत गरिएको उनले बताए ।

आइतबारदेखि डायलासिस र आकस्मिक उपचार कक्ष मात्रै संचालनमा ल्याएका छौं, उनले भने, ‘बहिरंग (ओपिडी ) सेवा पनि २÷३ दिन भित्रै संचालनमा ल्याउँछौं।’ ओपीडीमा खटिने चिकित्सकको पीसीआर जाँचको रिपोर्ट आइ नसकेको भन्दै उनले रिपोर्ट राम्रो आए लगत्तै ओपीडी सेवा पनि सुचारु हुने बताए ।अन्तरङग सेवा संचालनमा भने अझ केही दिन लाग्ने उनले जानकारी दिए ।

कोरोना संक्रमितलाई अन्तरङग विभागकै वार्डमा राखेर उपचार गरिएको थियो,उनले भने, ‘वार्डको बेड, भीत्ता, भुइ , झ्याल ढोका सबैको स्याम्पल पीसीआर जाँचका लागि प्रयोगशालामा पठाएका छौं , त्यसको रिपोर्ट आउन अझ केही समय लाग्छ ।’

चैत ३० मा सरकारले कोभिड- १९ अस्पताल बनाएपछि नारायणी अस्पतालमा बन्द गरिएको साधरण उपचार सेवा सुचारुको माग गर्दै वीरगन्जका राजनीतिक दल, विभिन्न संघसंस्था र नागरिक समाजले निरन्तरत प्रदर्शन गर्दै आएका थिए। नारायणी अस्पतालमा पर्सा , बारा , रौतहट र सर्लाहीका गरी ४ जिल्लाका बिरामी उपचारका लागि आउने गरेका छन् । साभार – अन्नपूर्णा पोष्ट

error: Content is protected !!