कोरोना निको भएर थप ४३ जना घर फर्किए, नारायणी अस्पताल संक्रमित मुक्त

वीरगन्ज — नारायणी अस्पतालको आइसोलेसन वार्डबाट सोमबार थप ४३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २ जना पत्रकारसमेत छन् ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्षसहित दुई पत्रकार गत वैशाख ३० मा कोरोना पोजेटिभ पुष्टि भएपछि आइसोलेसनमा भर्ना भएका थिए ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायका अनुसार संक्रमितको पछिल्लो दुई रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

‘सोमबार डिस्चार्ज हुनेमा एकजना सर्लाहीका बाहेक सबै पर्साका हुन्,’ मेसु डा.उपाध्यायले भने, ‘डिस्चार्ज हुने ४३ जनामा २ जना महिला छन् ।’

नारायणी अस्पतालको आइसोलेसन वार्डबाट आइतबार राति मात्रै करिब ११ बजे वीरगन्ज छपकैयाका एकै परिवारका १८ जना संक्रमित निको भएर डिस्चार्ज भएका थिए । शनिबार ९ जना डिस्चार्ज भएका थिए ।

पछिल्लो ३ दिनमा नारायणी अस्पतालको आइसोलेसन वार्डका ७० जना कोभिड १९ संक्रमित निको भएर घर फर्किएका छन् ।

सोमबार ४३ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा अब कोरोना संक्रमित छैनन् ।

गण्डक अस्पतालमा बनाइएको अस्थाई कोरोना अस्पतालमा २७ जना संक्रमितको उपचार भइरहेको छ ।

error: Content is protected !!