पर्सामा जेठ ५ गते सम्म निषेधाज्ञा लागु, आवश्यक परे सेना परिचालन गरिने

वीरगञ्ज — पर्सा जिल्लामा एकै दिन ३९ जनामा कोरोनाको संक्रमण देखिएको पुष्टि भएसँगै यसको नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुुरक्षा समितिको बैठकले बैशाख ३० गते साँझ ८ बजेदेखि २०७७ जेठ ५ गते राति १२ बजेसम्म पर्सा जिल्लाभरी लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

यस्तै संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त स्थानीय प्रशास ऐन, २०२८ को दफा ६ को उपदफा २ अनुसार नेपाली सेनाको समेत परिचालन गर्ने निर्णय समेत गरेको छ ।

उक्त निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरुलाई घरबाहिर निस्कन नदिइने बताइएकाे छ । यस्तै सुरक्षा निकाय, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार , भन्सार, आइसीपि, क्वारेन्टिन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै जिल्लाभर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाइने भएकाे छ ।

साथै भारतीय सीमा नाकाहरु तथा खुल्ला सीमानाको जुनसुकै स्थानबाट यात्रुहरुको आवागमन निषेध गरिएकोमा लुकीछिपि मानिसहरुको आवागमन रोक्न सुरक्षाकर्मीहरुको व्यापक गस्ती बढाई मानिसहरुको आवातजावत समेत मिति २०७७ जेठ ५ गते राति १२ बजेसम्मका लागि बन्द गरिने भएको छ । साभार- ई कान्तिपुर

error: Content is protected !!