कोरोना शंकास्पद ३ जना भारतीयलाई आइसोलेसनमा राखियो, थप रिपोर्ट आउन बाकी

वीरगन्ज २९ चैत । बीरगञ्जको एक मस्जिदमा बसिरहेका ३ जना भारतीयलाई कोरोना संक्रमणको आशंकामा वीरगन्जको नारायणी अस्पतालमा रहेको आइसोलेसनमा ल्याएर राखिएको छ ।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो ।

त्यसमध्ये तीनजनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने छुट्याउन नसकेपछि थप निर्क्योल गर्नका लागि ती नमुनालाई काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

कोरोना पोजेटिभको आशंकापछि वीरगन्ज महानगरपालिका बडा नम्बर २ छपकैयास्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका ३ जना भारतीयलाई शुक्रबार दिउँसोदेखि नारायणी अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ ।

बिहीबार छपकैया र बाराको घुसुकपुर मस्जिदका २४ जना धार्मिक गुरु नारायणी अस्पतालमा ‘स्क्रीनिङ’का लागि आएका थिए ।

चिकित्सकले उनीहरुको स्वाब संकलन गरि प्रदेश नम्बर ३ को हेटौंडामा रहेको कोरोना परिक्षण प्रयोगशालामा पठाएका थिए ।

२४ जना मध्ये ३ जनाको रिर्पोट शंकास्पद देखिएको जानकारी आएपछि अस्पतालले उनीहरुलाई मस्जिदबाट ल्याएर आइसोलेसनमा राखेको हो ।

हेटौंडाको कोरोना परिक्षण ल्याबले शंकास्पद देखिएका ३ जनाको रिर्पोट कन्फर्म गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको नारायणी अस्पतालका चिकित्सकले जनाएका छन् ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बिहीबार स्वाब संकलन गरेर पठाइएको २४ जनामध्येको तीनजना अस्पतालको आइसोलेसन कक्षमा राखिएको बताए ।

‘हेटौंडाको ल्याबमा गरिएको परीक्षण शंकास्पद आएको भन्ने सुनिएपछि वडा अध्यक्षसँगको समन्वयमा ३ जनालाई यहाँ बोलाइएको हो,’ मेसु डा. उपाध्यायले भने, ‘शनिबार दिउँसोसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट फाइनल रिर्पोट आएपछि कन्फर्म हुन्छ ।’

स्थानीयका अनुसार विगत ९-१० दिन अगाडिमात्र यी धार्मिक गुरुहरु मस्जिदमा आएका थिए ।

error: Content is protected !!