पर्सा प्रहरीको सक्रियता : श्रोत नखुलेको २६ लाख सहित ४ जना पक्राउ

वीरगन्ज, १३ फागुन । पर्सा प्रहरीले २६ लाख ७१ हजार अवैध नेपाली रुपैया सहित वीरगञ्जबाट ४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्जको विभिन्न स्थानबाट स्रोत नखुलेको रकम सहित चार जनालाई पक्राउ गरेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिईन ।

स्रोत नखुलेको नेपाली रुपैया सहित पक्राउ पर्नेमा रौतहट पिपरा पोखरिया १ घर भई हाल पर्साको बिरगञ्ज महानगरपालिका.वडा नंम्बर १६ नगवा बस्ने ४१ बर्षीय संजय कुमार साह, सोही ठाउका ३० बर्षीय जयलाल महतो, ३१ बर्षीय राजु कुमार कलवार र भारत रक्सौल टुमरिया टोला बस्ने ३५ बर्षीय विजय कुमार ठाकुर रहेका छन् ।

साह र महतो वीरगञ्ज महानगर १० आदर्शनगरबाट बा.४८.प.६५९७ नम्बरको मोटरसाईकल सहित पक्राउ परेका हुन । पक्राउ परेका साहको साथबाट प्रहरीले ९ लाख ७१ हजार र महतोको साथबाट १० लाख नेपाली रुपैया बरामद गरेको छ ।

यस्तै बि आर ०५ ए ए ७२५५ र बी आर ०५ डी ५०१८ नम्बरको भारतीय मोटरसाईकलमा आउदै गरेको अवस्थामा कलवार र ठाकुरलाई वीरगञ्ज भंसार कार्यालय अगाडीबाट नियन्त्रणमा लिएको हो ।

कलवारको साथबाट स्रोत खुलाउन नसकेको अबैध तीन लाख र ठाकुरको साथबाट ४ लाख नेपाली रुपैया बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

चारै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखि अबैध वित्तिय कारोबार अन्तर्गत मुद्दा चलाई अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।

error: Content is protected !!