पर्सामा बलत्कारका घटनामा बृद्धि

बीरगंज १० पुष  । पर्सामा ६९ वटा विभिन्न मानव अधिकारका उल्लंघनका घटनाहरु भएको तथ्यांक सार्वजनिक भएको  छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको नेपाल मानवअधिकार बर्ष पुस्तक २०२० को बार्षिक पूर्व समिक्षामा गोष्ठीमा यो तथ्य सार्वजनिक गरिएको हो ।

इन्सेक पर्साका प्रतिनिधि के.सी. लामिछानेले तथ्यांक सार्वजनिक गर्दै पर्सामा २०७५ पुस १८ गतेदेखि ०७६ पुष १० गते सम्म  सबैभन्दा बढी बलात्कारको  घटना भएको जानकारी गराउनुभयो ।

सार्वजनिक गरिएको तथ्यांक अनुसार पाँच बर्षदेखि १८ बर्षमुनिका बालिका बलात्कारको २५ वटा घटना भएको छ । १९ बर्षदेखि माथिका १८ वटा बलात्कारको  घटना भएको छ । त्यसैगरी ८ वटा आफन्तजन र परिवारजनबाटै हत्या भएको छ ।

बाल यौनदुव्र्यवहारका दुईवटा, हत्या प्रयास १ र अपरणको एउटा घटना भएको छ । त्यस्तै प्रहरीको गोली प्रहारको दुईवटा घटना भएको छ ।

मानव बेचविखनको चारवटा घटना भएको छ । एसिड प्रहारमा एउटा र बहुविवाहमा ६ वटा घटना इन्सेकले अभिलेख गरेको लामिछानेले बताउनुभयो ।

इन्सेकको अभिलेखमा छुवाछुतको घटना भने अभिलेखिकरण भएको छैन ।

मानवअधिकार निगरानी समूह पर्साका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा भएको समिक्षा गोष्ठीमा पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले ९४ प्रतिशत अनुसन्धानमा नेपाल प्रहरी सफल भएको दावी गर्नुभयो । तथापी नियन्त्रण पक्ष बलियो हुनुपर्नेमा उहाँको जोड थियो ।

अपराधको घटना दर्ता हुदैमा अपराधमा वृद्धि भएको भन्न नमिल्ने बताउदै उहाँले यसमा घटना उजागर भएको भन्ने कोणबाट पनि हेर्नुपर्ने बताउनुभयो ।

पर्सा जिल्ला खुला सीमाका कारणले निकै अपराध नियन्त्रणमा निकै चुनौती रहेको बताउदै अपराध गरेर भाग्न सजिलो भएकोले नै भारतसँग सुपुर्दुगी सन्धी नभएकोले कारवाहीको दायरामा ल्याउन समस्या हुने गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहानले मानवअधिकारको सवालमा राज्य उदासिन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको सिफारिस कार्यान्वयन नहुनु दुखद भएको बताउनुभयो ।

तरपनि समाजमा हुने विभिन्न किसिमका मानवअधिकार उल्लंघनका घटनाको अभिलेखिकरण गरेको भन्दै इन्सेकले गरेको कामको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारु, मानवअघिकार संगठन पर्साका सचिव शिवनाथ यादव लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण इन्सेक पर्साका प्रतिनिधि के.सी. लामिछानेले गर्नुभएको थियो ।

error: Content is protected !!