किराना फर्मको नाममा ‘मरिच’ खरिद गरी भारत तर्फ तस्करी

श्याम कुशवाहा/बीरगञ्ज,१८ मंसीर । तेस्रो मुलुकबाट आयात गरेर बीरगञ्जमा ल्याइएको कालो मरिच बीरगञ्ज लगाएत पर्सा जिल्लाको विभिन्न नाकाहरु प्रयोग गरेर भारत तर्फ तस्करी भइरहेको भेटिएको छ ।

बीरगञ्जका व्यापारीहरुले तेस्रो मुलुकबाट आयात गरी मंगाएको कालो मरिच स्थानीय विभिन्न किराना फर्महरुको नाममा खरिद गरी बीरगञ्जका विभिन्न ठाउहरुबाट व्यापारीहरुले भारत तर्फ तस्करीका माध्यमले पठाइरहेका छन ।

नेपाली रुपैया किल्लो को ४ सय रुपैयामा नेपालमा खरिद गरिएको कालो मरिच भारत पुग्दा ६ सय रुपैयामा बिक्री हुने भएकोले मरिचको तस्करी तिब्र रुपमा बढिरहेको हो ।

बीरगञ्जको विर्तामा रहेको डाक्टर रामाशिष ठाकुरको अस्पताल अगाडी रहेको शिवम किराना,वडा प्रहरी कार्यालय विर्ताको छेउमै त्रिजुद्ध स्कुल अगाडी रहेको नेपाल किराना र सिटी सर्जिकल भित्र रहेको डाक्टर पिके जैशवालको क्लिनीक छैउमै जय श्री श्याम इन्टरप्राइजेजले क्लिनीकको आडमा मरिच खरिद गरेर व्यापक मात्रामा मरिचको भारत तर्फ तस्करीका माध्यमले पठाइरहेका छन ।

किरानाको नाममा फर्म रहेपनि किराना समानको नाममा पसलमा एउटा चाउ चाउ समेत पाइदैन, मरिच भने जती चाहीयो उपलब्ध हुन्छ त्याँहा । पसल अगाडी पसलको नाम लेखीएको बोर्ड समेत राखीएको छैन ।

यी तिनवटै फर्मबाट दैनिक २० क्युन्टल भन्दा बढी मरिच भारत तर्फ तस्करीका माध्यमले पुर्याउने गरेको दैनिक जो कोहीले पनि हेर्न सक्छ ।

करिब १० वटा संख्यामा रहेको नेपाली मोटरसाईकलहरुले सार्ईडमा बनाइएका डिक्कीहरुमा,केही भारतीय स्कुटी मोटरसाईकलहरुले सिट मुनी राखेर, बैट्री बाट चल्ने अटो रिक्साहरुले बैट्री राख्ने ठाउहरुमा,साईकल लगाएत केही व्यक्ती र महिलाहरु बाट शरिर मै फिटिंग गराएर विभिन्न माध्यम बाट मरिच तस्करी दिनहु भइरहेको छ ।

यी पसलहरुको छेउमै रहेको वडा प्रहरी कार्यालय विर्ता कानमा तेल हालेर बस्दा दैनिक मरिचको तस्करी तिब्र रुपमा भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुशनधान हेर्ने क्राइम ब्रान्चको टोलीले केही महिना अगाडी यी पसलहरुमा छापा मारी गरेर भारत तर्फ लगिरहेको मरिच नियन्त्रणमा लिएपनि हाल अवस्था पुरानै छ र दिनहु तस्करीका माध्यमले कालो मरिचको तस्करी दिन प्रती दिन बढदै गइरहेको छ ।

यसलाई नियन्त्रण गर्ने तर्फ सम्बन्धीत निकायको ध्यान समयमै पुगोस ।

error: Content is protected !!