पर्सा ट्राफीकद्वारा २६ हजार सवारीलाई कार्यवाही,१ करोड ६४ लाख राजश्व संकलन

वीरगञ्ज,१२ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले गएको आर्थिक वर्ष २०७५र०७६ मा एक करोड ६४ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

ट्राफिक नियम विपरित चल्ने विभिन्न सवारीका साधनहरुलाई कारवाही गर्दा १ करोड ६४ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७४र०७५ भन्दा यस आर्थीक वर्षमा झण्डै ७ लाख बढी राजश्व संकलन भएको जिल्ला ट्राफीक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षमा १ करोड ५७ लाख ११ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

गएको आर्थिक वर्षमा ठूला मालवाहक ट्रकले सबैभन्दा बढी ट्राफिक नियम उल्लंघन गरेको तथ्यांकले देखाएको छ साथै मोटरसाइकल, ट्याक्टर, टेम्पो, जीप र बस लगाएतका सवारीका साधनहरुले ट्राफिक नियम बढी उल्लघंन गरेकोे तथ्यांकले देखाउँछ ।

एक वर्षमा १२ हजार ३ सय ४३ वटा ट्रकले ट्राफिक नियम पालना नगर्दा कारबाहीमा परेका छन् । कारबाहीबाट ७७ लाख ३५ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी ४ हजार ४ सय ३९ वटा मोटरसाइकललाई गरिएको कारबाहीबाट ४७ लाख ४ हजार रुपैयाँ जरिवाना संकलन भएको छ । यही अवधिमा ३ हजार ४ सय ६९ ओटा टेम्पोलाई गरिएको कारबाहीबाट ३७ लाख ९२ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको ट्राफिक प्रहरी कार्यालय पर्साको तथ्यांकमा उल्लेख छ ।

यो एक वर्षमा ३ हजार ७ सय ३७ ट्याक्टर कारबाहीमा परेका छन् । त्यसबाट ११ लाख ६७ हजार ५ सय रुपैयाँ संकलन भएको छ । १ हजार ६ सय ३८ वटा जीप कारबाहीमा पर्दा ९ लाख ३८ हजार ५ सय राजश्व संकलन भएको छ । बसले सबैभन्दा कम ट्राफिक नियम उल्लंकन गरेको देखिएको छ ।

एक वर्षको अवधिमा जम्मा ९ सय ४३ वटा बस ट्राफिक नियम उल्लंघन गरेकोमा कारबाहीमा परेका छन् । त्यसबाट ६ लाख ७ हजार ५ सय रुपैयाँ संकलन भएको छ ।

ट्राफिक लेन विपरित सवारी सञ्चालन गर्ने, सवारी अनुमति पत्र तथा सवारी धनी पुर्जा विना सवारी सञ्चालन गर्ने, मादक पदार्थ सेवन गरेर सवारी सञ्चालन गर्ने, जथाभावि पार्किङ गर्ने जस्ता ट्राफिक नियम विपरीतका काममा ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको छ ।

error: Content is protected !!