प्रहरीले सुनचाँदी व्यवसायकै रकम नियन्त्रणमा लिई हुण्डी कारोबार भनेर जबरजस्ती झुठा मुद्दा चलायो- पिडित

बीरगञ्ज,१२ असार । पर्सा प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा सोमबार माईस्थान चौकमा कन्हैया साह सोनारले संचालन गरेको केपी स्वर्णकला केन्द्रमा छामा मार्यो।

प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा गएको टोलीले स्वर्णकला केन्द्रमा छापा मारेर पसलमा रहेको नगद ४१ लाख ९२ हजार ९ सय रुपैयाँ र २ हजार ५० ग्राम कच्चा चाँदीसहित ८ जनालाई नियन्त्रणमा लिई पसलमा शिलबन्दी गर्यो।

त्यसको भोलि पल्ट मंगलबार प्रहरीले ८ जनाविरुद्ध जिल्ला अदालतमा हुण्डी कारोबार सम्बन्धी मुद्दा दर्ता गरेर पाँच दिनको म्याद थप गराई अनुसन्धान सुरु गर्यो।

पक्राउ परेको आठैजना हुण्डी कारोबारमा संलग्न रहेको प्रहरीको दाबी छ। पसलका संचालक फरार रहेकोले उनको खोजी भइरहेको प्रहरीले बताएको छ।

तर, पसलका संचालक कन्हैया साह सोनार असार ३ गते सह–परिवार धार्मिक भ्रमणमा भारतमा गएका छन्। पसलका कर्मचारी, सेल्स मैन, कालिगड र ग्राहकलाई प्रहरी नियन्त्रणमा लिई जबरजस्ती हुण्डी कारोबार गरेको भनेर मुद्दा चलाएको पीडित परिवारले आरोप लगाएका छन्।

बिहीबार कन्हैयाका आफन्त सन्दीप सर्राफले पत्रकार सम्मेलनको आयोजना गरेर हुण्डी कारोबारको नाममा प्रहरीले वैध रहेको रकमलाई अवैध बनाउने प्रयास गरेको आरोप लगाए।

केपी स्वर्णकला केन्द्रको नाममा वार्षीक ८० देखि ९० करोडसम्म कारोबार छ। ‘आन्तरिक राजश्व कार्यालयमा वार्षीक १३ लाख भन्दा बढी कर तिर्दै आएको लेखा परिक्षण तथा कर दाखिला रसिदबाट पुष्टी हुन्छ’, सर्राफले भने,‘सबै प्रमाण हुँदा हुँदै प्रहरीले सुनचाँदी व्यवसायकै रकम नियन्त्रणमा लिई हुण्डी कारोबार भनेर जबरजस्ती झुठा मुद्दा चलायो।’

सर्राफले पसलमा रहेका चार जना कर्मचारी, १ जना कालिगढ, एकजना लेखापाल, १ जना सेल्सम्यान र १ जना ग्राहकलाई जबरजस्ती एउटा कोठामा लागेर हुण्डीको कारोबार गरिरहेको भनेर गलत समाचार सम्प्रेशण गर्न लगाइएको बताए।

सर्राफले भने, ‘प्रहरी नियन्त्रणमै लेखापरीक्षक छ, उसले नै पसल र कारखानामा हुने हरेक कारोबारको लेखाजोखा गरेको छ। ईमान्दारीपूर्वक प्रहरीले अनुसन्धान गरे यथार्थ छर्लङ्ग बाहिर आउँछ। तर, प्रहरीको नियत ठिक छैन, जरबजस्ती व्यवसायीलाई बदनाम गरी फसाउने षड्यन्त्र भइरहेको छ।’

प्रहरीले विज्ञप्ती जारी गर्दै पसलका संचालक फरार रहेको र उनको खोजी कार्य भइरहेको बताएको छ। ‘प्रहरीको विज्ञप्ती सरासर बदनियतपूर्ण रहेको भन्दै सर्राफले कन्हैयाले सन् २०१९ मे २३ तारिखका दिन पटनाबाट दिल्लीका लागि बुकिङ्ग गरेको प्लेनको टिकट समेत सार्वजनिक गर्दै २०१९ जुन १८ तारिखका दिन उनी धार्मिक भ्रमणका लागि सब–परिवार भारत गएको प्रमाण समेत पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

पत्रकार सम्मेलनमा पर्सा सुनचाँदी व्यवसायी संघका महासचिव प्रवेश सर्राफले प्रहरीले पसलमा छापा मारेकोप्रति कुनै आपत्ति नरहेको तर, छामामारको शैलीप्रति संघ असन्तुष्ठ रहेको बताए।

प्रहरीले प्रकृया नै नपुर्याइ जबरजस्ती पसलमा छापा मारेर पसलको टिजोरीमा राखेको लाखौ रकम र पसलकै कच्चा चाँदी आफ्नो नियन्त्रणमा लिई अवैध बनाएको आफन्तले आरोप लगाए।

प्रहरीले अनुसन्धान नै नगरी हचुवाको भरमा पसलमा छापामारी सम्पूर्ण व्यवसायीको चरित्र हत्या गर्ने काम गरेको सर्राफले बताए।

न्यायको लागि प्रहरीविरुद्ध सडकदेखि लिएर न्यायालयसम्म संघर्ष गर्ने व्यवसायीले चेतावनी समेत दिएका छन्। पत्रकार सम्मेलनमा कन्हैयाका दाई भुलन साह सोनार, सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष रामनरेश साह, अनिल सर्राफ, व्यवसायी शम्भु साह सोनार लगायतको सहभागिता थियो।

यता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले पक्राउ परेका आठ जनाविरुद्ध हुण्डी कारोबार सम्बन्धी जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थप गराई आवश्यक अनुसन्धान गरिरहेको बताए। पसलका अडिटर समेतलाई नियन्त्रणमा लिएको स्वीकार गर्दै प्रहरी नायब उपरीक्षक शर्माले भने, ‘अडिटरसँग सोधपुर गर्दा केही नबताएपछि मुद्दा दर्ता गरेका हौ।’
साभार -द नेपाल टप.कम

error: Content is protected !!