प्रवास संगठनको अधिवेशनका लागि सांसद यादव दक्षिण कोरीया प्रस्थान

वीरगंज । संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद प्रदीप यादव पार्टीको प्रवास संगठनको अधिवेशनका लागि पार्टी प्रतिनिधि भएर आज दक्षिण कोरिया जान लागेका छन् ।  

माघ २२ गते हुने नेपाल संघीय समाजवादी फोरम दक्षिण कोरियाको तेस्रो अधिवेशनमा पार्टीको प्रतिनिधिको रुपमा सम्बोधन गर्न आज राती त्यहाँ जान लागेको फोरम नेपालले जनाएको छ । 

पहिचान, समावेशी र समृद्ध राष्ट्र निर्माण संकल्प, नेपाली संघीय समाजवाद अबको निर्विकल्प भन्ने नाराका साथ प्रवास संगठनले आफ्नो तेस्रो अधिवेशन आयोजना गर्न लागेको हो ।

फोरम नेपालले अगामी बैशाखमा गर्न लागेको महाधिवेशनका कारण पार्टीका तल्ला तहका साथै प्रवासमा रहेका संगठनहरुले पनि धमाधम अधिवेशन गर्न लागेको हो । 

सांसद यादव कोरियामा रहेका नेपालीका अन्य संघ संगठनले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनुको साथै त्यहाँको सोलस्थित दुतावासमा हुने कार्यक्रममा समेत उनी सहभागी हुने बताइएको छ ।

सांसद यादवले भने, ‘कोरियामा काम गरेर बस्ने नेपालीहरुको अवस्था के छ, उनीहरुले त्यहाँ कसरी काम गरिरहेका छन्, लगायतका विषयमा समेत अध्ययन गर्छु । त्यहाँ देखिएका समस्यालाई नेपाल फर्केपछि समाधानका लागि प्रयास समेत गर्नेछु ।’

उक्त संगठनले दक्षिण कोरियाका सबै प्रान्त र क्षेत्रमा रहेका जातीय, क्षेत्रीय कमिटीहरुको अधिवेशन सम्पन्न गरिसकेको सांसद यादवले बताए । 
 

error: Content is protected !!