थप उपचारका लागी बाराका सिडीयोलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो

वीरगंज, १३ माघ । गएराती सवारी दुर्घटनामा परि गम्भीर रुपले घाइते भएका बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईलाई आज थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।

शनिबार साँझ सिडिओ भट्टराई सवार बा १ झ १६३३ नम्वरको स्कारपिओ गाडी पूर्व पश्चिम राजमार्गमा पर्ने बाराको पसाहा पुल नजिक दुर्घटना हुँदा बारामा कार्यरत सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते प्रजिअ भट्टराईको अवस्था चिन्ताजनक छ । उनको प्रारम्भिक उपचार वीरगंज स्थित वीरगंज हेल्थ केयर अस्पतालमा भएको थियो । प्रजिअ भट्टराईको टाउकोमा गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

प्रजिअ भट्टराईलाई लिनका लागि काठमाडौंबाट ग्राण्डी अस्पतालका चिकित्सकसहितको टोली हेलिकपटर लिएर वीरगंज पुगेको थियो । दुर्घटनामा प्रजिअ भट्टराईका गाडी चालक जगतप्रसाद पटेल, अंगरक्षक शम्भु गुरुङ र एसपीका अंगरक्षक सञ्जयकुमार यादव सामान्य घाइते छन् ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!